सम्झौताभन्दा बढी उत्खनन् भएपछि सुनसरीका सबै खोलामा उत्खनन बन्द

Newslaya Home

सम्झौताभन्दा बढी उत्खनन् भएपछि सुनसरीका सबै खोलामा उत्खनन बन्द

बुधबार ०१, जेठ २०७६

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सबै खोलामा उत्खनन गर्न प्रतिबन्ध लगाएको छ ।

जनप्रतिनिधिहरूले मनोमानी लगाएको ठेक्का सम्झौताभन्दा बढी खोला उत्खनन गरी प्राकृतिक श्रोत साधनको विनास हुन थालेपछि बुधबारदेखि खोला उत्खनन बन्द गरेको हो ।

धरानको अधेरी, सेउती, सर्दु शेहरा खोलामा सम्झौताभन्दा बढी उत्खनन भएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

त्यस्तै बराह नगरपालिकाको बाघ, खोला, पटनाली खोला, इटहरीको बुढी खोला लगायतका स्थानमा खोला उत्खननमा व्यापक अनियमितता गरेको भेटिएको छ । खोला उत्खनन्मा भएको अनियमितताका विषयमा जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपालराज भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरीएको छ ।

छानविन सकिएपछि सम्झौताभन्दा बढी खोला उत्खनन गर्ने ठेकेदार र ठेक्का लगाउने कार्यालयमाथि कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

जिल्ला समन्वय समितिका सभापति भण्डारीले जिल्लाका सबै खोलाको अनुगमन गर्दा सम्झौताभन्दा बढी खोला उत्खनन गरेको पाइएको बताए ।

३ फिट खोला उत्खनन गर्न पाएको अनुमतिलाई लत्याउदै ११ फिट गहिरोसम्म खोला उत्खनन गरेका छन् ।

filephoto