रिनाको मृत्यु रहस्यमै : पोष्टमार्टम र पोलिग्राफ दुवै परिक्षणले हत्या पुष्टि गरेन

Newslaya Home

रिनाको मृत्यु रहस्यमै : पोष्टमार्टम र पोलिग्राफ दुवै परिक्षणले हत्या पुष्टि गरेन

मङ्गलबार ३१, बैशाख २०७६

विराटनगर । पथरीमा २९ वर्षीया रिना बस्नेतको मृत्यु अझै रहस्यमै छ । उनको अन्तिम पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । जसबाट पनि उनको हत्या भएको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

फरेन्सिक ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

पोष्टमार्टम रिपोर्टबाट केही नदेखिएपछि प्रहरीको अर्को आशा पोलिग्राफमा थियो । तर त्यहाँ पनि तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्टबाट पनि केही पाइएन । रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो ।

रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको श्रेष्ठको भनाइ छ ।

प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो ।

रिनाको शव उनी बसेको घरमुनि बाटोमा गत वैशाख ७ गते शनिबार विहान नांगै भेटिएको थियो । रीनाका श्रीमान सन्तोश बस्नेत वैदेशिक रोजगारीमा थिए । उनी १४ वर्षीय छोरासँगै बस्दै आएकी थिइन् ।

रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै स्थानियले समिति नै बनाएर संघर्ष गर्दै आएका थिए ।

विभिन्न रिपोर्टले हत्या भएको नदेखाएपछि घर माथिबाट आफैँ खसेको हो वा आत्महत्या गरेको हो भन्ने बारेमा अनुसन्धान केन्द्रित रहेको प्रहरीको भनाई छ ।