एक लाख ६ हजार बेरोजगारलाई रोजगारी

Newslaya Home

एक लाख ६ हजार बेरोजगारलाई रोजगारी

मङ्गलबार ३१, बैशाख २०७६

काठमाडौं । सरकारले यस आर्थिक वर्षभित्र एकलाख ६ हजार ८७२ जना युवालाई रोजगारी दिने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरुलाई पारिश्रमिक दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रकम समेत पठाइसकेको छ ।

३० दिन रोजगारी दिनका लागि दुई अर्ब ३६ करोड सात हजार ९६९ रुपैया सशर्त पठाएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा. लोकनाथ भुसालले बताएका छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै युवाहरुलाई न्यूनतम सय दिन न्यूनतम रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यो वर्ष भने रोजगार कार्यक्रम ढिला शुरु भएकोले सय दिन नभई ३० दिनको रोजगारी दिनेगरी रकम पठाइएको हो ।

कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको छ । बेरोजगार सूचीकरणको समय आज सकिँदै छ । हरेक स्थानीय तहबाट आठ सयजनाका दरले ६ लाखजना बेरोजगारको सूचीकरण हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि अनुसार स्थानीय तहले सडक, शिक्षा, वन तथा जलाधार, पर्यटन, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, निर्माण तथा मर्मतसम्भार, कृषि तथा सिंचाइ लगायत आयोजनामा रोजगारी उपलब्ध गराउने छ ।