झुक्याएर १० करोडको जग्गा कब्जा !

Newslaya Home

झुक्याएर १० करोडको जग्गा कब्जा !

मङ्गलबार ३१, बैशाख २०७६

इटहरी । अमेरिका जाने भएपछि इटहरीका मोती प्रसाईले २०५६ सालमा आफ्नो ३ विगाहा ९ कठ्ठा ११ धुर जग्गा भाई ज्योतिको नाममा वारेसनामा तोकिदिए ।

२०६६ सालमा वारेसनामा बदर गरेको भन्दै गोरखापत्रमा सुचना छपाए । मोती अमेरिकामै भएको समयमा २०६९ सालमा त्यो जग्गा सुनसरीको अमाहिबेल्हा ७ कै लिलबहादुर नेपालको नाममा नामसारी भयो ।

नामसारी भएको बेलामा नेपालमा न मोती थिए, न ज्योति । नाटकीय ढंगले १० करोड पर्ने जग्गा अरु कसैको नाममा नामसारी भएपछि अहिले ज्योति न्यायका लागि भौतारिइरहेका छन् । मोतीले अदालत गुहारे, पार नलागेपछि उनी अमेरिका नै फर्किए ।

इटहरी वडा नं. ८ (ख) को कित्ता नं. ९, १४, २०, ५३, ५४, ५५, ५६, ९२ का जग्गाहरु आफू अमेरिका जाने भएपछि मोतीले दाईको नाममा वारेसनामा गरिदिएका थिए ।

पछि लामो समयसम्म पनि जग्गा बेच्न नसकेको भन्दै मोतीले २०६६ पुस १६ गतेको गोरखापत्रमा सुचना प्रकाशित गरी वारेसनामा बदर गरेको जनाए । त्यसबिचमा मोती र ज्योतिबिच सामान्य खटपटसमेत थियो ।

ज्योतिकाअनुसार वारेसनामा बदर भएको दुई वर्षपछि लिलबहादुर नेपाल नामक व्यक्ति आए । सबै कुरा बुझेका नेपालले वारेसनामा मागे । ज्योतिले दिए अनि आवश्यक ठाउँमा सही पनि गरिदिए ।

‘बदर भइसकेको वारेसनामा र जग्गाको कागजातहरु काम लाग्दैन भनेर दिएँ,’ नेपाली भाषा पढ्न नसक्ने ज्योति भन्छन्, ‘तर पछि त जग्गा आफ्नो नाममा पारेछ ।’

एक पैसा पनि नदिइ नेपालले ७० लाख बइना लिएको कागजमा झुक्याएर सही गराइ जग्गा पास गरेको ज्योतिको आरोप छ । २०६५ मंसिर ७ गते जग्गा बेच्नको लागि बैना लिएको कागज बनेको थियो, जुन पछि मात्र सार्वजनिक भयो । ‘बारेसनामा बदर हुनुभन्दा अघिल्लो मिति राखेर सबै तिर मिलाएर गरेछ,’ ज्योति भन्छन् ।

उता नेपाल भने ज्योतिले पैसा लिएरै बइना गरेको दावी गर्छन् । बैना लिएर पनि जग्गा नलिएको भन्दै २०६८ चैत १० गतेको गोर्खापत्रमा उनले बैनाको रकम फिर्ता माग गरेर सुचना प्रकाशित गरेका थिए । त्यसलगत्तै नेपालले अदालतमा मुद्धा हाले, अनि आफैले जग्गा सकारेर हात पारे १० करोड पर्ने जग्गा ।

ज्योतिका अनुसार उनी र उनका भाई नेपाल बाहिर भएको बेलामा पुरानो डकुमेन्टको आधारमा जालसाँझी गरिएको हो । ज्योति ६६ सालतिर भारतको मिजोरमा गइ बसेर २०७० माघमा मात्र नेपाल फर्किएको बताउँछन् । ‘भाई पनि अमेरिकामा थियो, त्यही बेलामा अदालतमा मुद्धा हालेर, पछि जग्गा सकारेछ,’ उनी भन्छन्, ‘बेच्ने मानिसहरु उपस्थित नै नभई जग्गा पास भयो, त्यो पनि लिलामको प्रक्रिया पुरा नगरी जग्गा सकारेको छ ।’

प्रसाई नभेटिएको भन्दै २०६८ साल माघ महिनामा इटहरी ५ स्थित चौतारोमा सुचना टाँसेर बेपत्ते तामेल गराइएको थियो । प्रसाईको स्थायी पुख्र्यौली घर ताप्लेजुङको ठेगाना नेपाललाई थाहा भएको उनैले हालेको उजुरीबाट प्रष्ट हुने भएपनि झारा टार्ने गरी म्याद तामेल गरिएको प्रसाईको आरोप छ । इटहरी ५ स्थित अस्थायी ठेगानामा कोही नभेटिए स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्नेमा नगरी चौतारोमा सुचना टाँसेर औपचारिकता पुरा गरिएको प्रसाई दाजुभाईले हालेको मुद्धामा उल्लेख छ ।

चौतारोमा सुचना टाँस्दा पनि म्याद तामेल गर्न कोही नआएपछि २०६९ असारमा बैनाको रकम दिलाई पाउँ भन्दै प्रसाईले मुद्धा हाले । बइनावापतको रकम जग्गाबाटै असुल गरीपाउँ भनी जग्गाको मूल्यांकन ६६ लाख ७ हजार २५० कायम गरीयो । बाँकी रकम ९ लाख ७१ हजार ५२० रुपैया कानुनका म्याद भित्र निवेदन गरी असुल्ने भनी नेपालले जग्गा सकारी २०६९ पुसमा डाँक मुचुल्का गरे ।

दुई पटक लिलाम बढाबढ गर्नुपर्ने नियम भएपनि लिलाम बढाबढ नगरीकनै जग्गा सकारेकोले त्रुटी रहेको उनको दावी छ ।

१० करोडको जग्गा एक पैसा नपाइ गुमेपछि ज्योति र मोतीको सम्बन्ध समेत बिग्रिएको छ । मोतीले त पछि ज्योति र नेपाल विरुद्ध मुद्धा नै हालेका थिए । यस्तै ज्योतिले पनि २०७३ फागुनमा ज्योति प्रसाईले लिलबहादुर नेपाल, जिल्ला अदालत र मालपोत कार्यालयलाई विपक्षी बनाइ अदालतमा मुद्धा हाले । तर केही पार लागेको छैन ।

जालझेल गरी सुकुम्बासी बनाएको भन्दै जग्गा रोक्का गरिदिन र ठगी गर्ने लिलबहादुर नेपाललाई पक्राउ गरी कारवाही गर्न २०७४ पुस १६ गते इटहरी उपमहानगरपालिकाको वडा नं. ७ मा पनि उजुरी दिएका थिए । त्यहाँबाट पनि केही भएन ।

नेपाल ७५ लाख बैना दिन सक्ने हैसियतकै मानिस नभएको प्रसाईको आरोप छ । त्यसबिचमा बैना फिर्ता माग्ने भन्दा पनि जग्गा हडप्ने नियतले काम गरेको प्रसाई बताउँछन् ।

प्रसाईका छिमेकी इटहरी ५ का राजकुमार खड्काले अदालतमा जग्गा धनी विनै जग्गा पास हुनुमा ठूलै गिरोहको संलग्नता रहेको बताए । उनले पनि नेपालले ठगेर जग्गा हात पारेको आरोप लगाए । उनले भने, ‘पुरानो डकुमेन्ट पाएर पहिलेको बइना कागज बनाएर देखाइएको हो ।’

पैसा दिएको भन्ने नेपाल र पैसा नलिएको बरु बइनाको कागज नै झुक्याएर बनाइएको बताउने प्रसाईबिच अहिले सम्पर्क खासै छैन । बरु नेपालको उक्त जग्गा इटहरीकै विष्णु अधिकारीले प्लटिङ गरेर बेचिरहेका छन् ।

अधिकारीले भने आफूले जग्गा किनेर बेचेको र विगतको कुरा थाहा नभएको बताए । उनले सामाजिकरुपमा प्रसाईलाई केही राहत दिनेबारे कुरा भइरहेको बताए । ‘अदालत र कानुनका हिसाबले होइन, सामाजिक र मानवताका हिसाबले आर्थिक अवस्था न्युन हुँदा केही सहयोग गरौं भनेर कुरा भइरहेको छ,’ उनले भने ।

सो बुझ्न खोज्दा नेपालले भने फोन उठाएनन् ।

कानुनी सँगै ज्योति यतिबेला सामाजिक लडाईमा छन् । निकै निम्नवर्गीय आर्थिक हैसियतका उनको पहिले साइकल पसल थियो । मुद्धा लड्ने चक्करमा अहिले त्यो पनि बेचे । खान लाउनै समस्या रहेको उनको भनाई छ ।

ज्योतिले जग्गाको माया नमारेकोले जग्गाधनीहरु अहिले ज्योतिको पिछा छुटाउन केही लाख रुपैया दिने प्रस्ताव गरिरहेका छन् । ‘१० करोडको जग्गाको क्षतीपूर्ती लाखमा लिन्नँ भनेर भनिदिएँ,’ प्रसाई भन्छन्, ‘तर अझै पनि न्याय पाउँछु भन्ने आशा मारेको छैन ।’