१ नं. प्रदेशमा १२ जना चढ्ने गाडी किन्न १० करोड, स्कोर्पियो चढ्ने सभामुखलाई अझै महँगो गाडी

Newslaya Home

१ नं. प्रदेशमा १२ जना चढ्ने गाडी किन्न १० करोड, स्कोर्पियो चढ्ने सभामुखलाई अझै महँगो गाडी

आइतबार २९, बैशाख २०७६

विराटनगर । प्रदेशसभाका समाभुखदेखि विपक्षी दलका सचेतक सम्मको सुविधाको लागि प्रदेश १ सरकारले १० करोड रुपैयाका १२ वटा गाडी किन्न लागेको छ ।

सात वटा विषयगत समितिका सभापति, प्रमुख विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलकै प्रमुख सचेतक, प्रदेशसभाका सचिव र सभामुखका लागि सुविधा सम्पन्न गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

संसद सचिवालयले सभामुख प्रदीपकुमार भण्डारीका लागि ४० लाख पर्ने स्कार्पियो गाडी किनेपनि उनका लागि सोभन्दा सुविधाजनक गाडी किन्ने प्रक्रिया अघि बढाएको हो ।

प्रदेशसभाका सभापति बाहेकका पदाधिकारीहरूले अहिलेसम्म विभिन्न सरकारी कार्यालयबाट मगाइएका गाडी चढ्दै आएका छन् । प्रदेशसभाले पारित गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनअनुसार सवारी साधन किन्न लागिएको हो ।

ऐनले प्रमुख विपक्षी दलको प्रमुख सचेतकलाई सवारी साधन उपलब्ध हुन नसके मासिक १५ हजार रुपैया इन्धन खर्च दिने व्यवस्था गरेको छ ।