भुसाल कमरेड, छाती पिटेर रुनै पर्ने हो र ?

Newslaya Home

भुसाल कमरेड, छाती पिटेर रुनै पर्ने हो र ?

- प्रा.डा.बद्रीविशाल पोखरेल
शुक्रबार २७, बैशाख २०७६

भुसालले भनेझैँ अलल्लिने गरी रुने कारण अहिले देखिन्न । तुईन विस्थापित हुँदा, सफल कुटनैतिक क्षमताका आधारमा मित्र राष्ट्रहरुका बीच सुमधूर सम्बन्ध कायम राख्दा, चन्द्र सूर्य रहेसम्म नेपालसित दुर्लङ्घ्य, दुर्गम तथा दुरुह मैत्री सम्बन्ध रहेको चीनसित भारतवत् सुमधूर सम्बन्ध कायम हुँदा, संघीयता सम्बन्धी तमाम नीति, विधि र प्रणालीको स्थापना हुँदा, विकास निर्माण गतिविधि तीव्र हुँदा, योगदानमा आधारित आजीवन सेवा सुविधा र सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम आदि अनेक खुसी छाउने कार्यक्रमहरु पनि छन् । अनि किन छाती पिटेर रुनु प¥यो ?

तर नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले केही दिन अघि डिजिटल मिडियाहरुमा पार्टीको हालत देख्दा आफूलाई छाती पिटीपिटी रुन मन लागेको विषय भाइरल भयो ।

भुसालको मर्मस्पर्शी कुरा सुन्दा यस लेखकको संवेदना अनायाश जागृत भयो । म अर्थात् एउटा नेकपाको प्रतिनिधि पात्र, जो लेखक, स्रष्टा, सभासद्, मन्त्री पनि हुनसक्छ ।

यो पार्टीको निर्माण, विकास र समृद्धिमा धेरैधेरै नेता, कार्यकर्ताको आवश्यक त्याग र बलिदान रहेको छ । ०२८ सालका झापा संघर्षका कतिपय योद्धाहरु नै पनि बहुत बिचल्लीमा छन्, ती रोई रोई दिन बिताइरहेकै छन् ।

भनसुन र मनसुनका कारण अनेक महत्वपूर्ण औसर र सयर गर्नेहरु आजीवन मोजमस्तीमा नै रहँदा रहेछन् । तर सिद्धान्तको राजनीति गर्नेहरु सदा भुईंमा पछारिइरहेकै छन् ।

मुकुन्द न्यौपाने यस पार्टीका होनहार योद्धा हुन् । उनी यस पार्टीको र सरकारको उच्च तह सम्हाल्ने क्षमताका हुन् । तर पनि पार्टी र सरकारमा जे जस्तो हैसियत र औकात पाइरहेका छन् तिनले चित्त बुझाएकै छन् ।

समस्या चाहिँ के रहेछ भने सोझो र सिदा रुपमा काम र जिम्मेवारीमा लगनका साथ सक्रिय इमान्दार तथा सिद्धान्त निष्ठ पात्र र प्रवृत्ति पछि पर्दो रहेछ ।

कतिपय सिद्धान्तनिष्ठ, कर्मनिष्ठ तथा इमानी व्यक्तित्वहरुलाई पार्टी, जनता र राष्ट्रसेवा नै गर्न नपाइने हो कि भन्ने लाग्न थालेको छ । उपयुक्त जिम्मेवारी पाउन हस् हजुर, श्रीमान् गजुर भन्ने पर्ने रहेछ जस्तो पनि लाग्न थालेको छ ।

यो लेखक आफ्नै इच्छा बलमा भनसुन गरेर पार्टीको केन्द्रीय संस्कृति विभागको सदस्य बन्न पुग्दा त्यहाँ नियुक्त वा मनोनितहरु गहकिला कार्यकर्ता नेता नियुक्त हुँदा हुन् भन्ने लागेको थियो तर त्यहाँ त अधिकांशमा संस्कृति सम्बन्धी प्रगतिशील तथा प्रगतिवाद सम्बन्धी अति सामान्य ज्ञानको अभाव देखेर उदेक लाग्यो ।

एशज (एक्काइसौँ शताब्दीको जनवाद)ले कम्युनिष्टहरुले सत्ता कब्जा गरेपछि प्रतिक्रान्तिको खतरा स्पष्ट रुपमा औँल्याएर बहुदलीय प्रतिस्पर्धाका नीति निर्माण गरेको हो । तर पनि स्वयं पार्टी समिति र यसका विभागहरुमा कथित लबीका नाममा योग्यता, अनुभव र क्षमतालाई ख्याल नगरी हस् हजुर पन्थीहरुलाई भर्ती गरेपछि सरकारमा पनि त्यही सिको त गर्ने हो नि ।

यसरी आखिरमा आलोचनात्मक चेत समाप्त हुन्छ अनि पशुजस्ता कहिल्यै केही पनि प्रश्न नगर्ने असल साथी र कमरेड मात्र बाँकी रहन्छन् अनि पार्टी र आन्दोलन भने उठ्नै नसक्ने गरी थला पर्छ र मर्छ । तर खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ एक दिन सत्य उदाङ्गो हुन्छ । नेपाल साप्ताहिक लगायत प्रतिपक्षीय पात्र र पत्रिकाले यस्ता विषय उजागर गरिरहेका छन् र गर्नु पनि पर्छ ।

तर भुसालजी, प्रायोजित माक्र्स जयन्ती गरेर पार्टी र नेतृत्वलाई खुइल्याउने जस्तो सतही काम गरेर पार्टीको नेतृत्व गर्नु सजिलो चाहिँ छैन है । कामकाजको मूल जिम्मेवारी केही लिन नमान्ने तर असन्तुष्टहरुलाई एकएक निहुँमा उचाल्ने र सडकमा तमासा देखाउनु निम्नस्तरको काम हो ।

जबजको च्याप्टर क्लोज गर्न उद्यत चरम अवसरवादी नेतृत्व चरित्रले पनि पार्टीमा समाजवादको ढोका बन्द हुनेछ । जुन नेता एक वर्षअघि जबजलाई सिद्धान्त बनाउनुपर्छ भन्छ अनि एकै वर्षपछि त्यही सिद्धान्त च्यात्छु भन्छ भने त्यस्तो नेताप्रति आन्दोलनको के तमासा होला । सिद्धान्त र व्यवहारको विचलन दुवै खतरा हो ।

भुसालले माक्र्स जयन्तीका अवसरमा कमरेड प्रचण्डकै अगाडि पार्टी र प्रमुख नेतृत्वलाई खुलेआम मनोविनोदपूर्वक खुइल्याउने काम गरे । सैद्धान्तिक र कार्यशैलीगत गम्भीर विचलनले नै आन्दोलन समाप्त हुन्छ ।

कम्युनिष्ट आन्दोलन कसरी ध्वस्त हुन्छ, भारतको पश्चिम बङ्गाल हेर्दा हुन्छ । आँखाका सामु घटेका दुर्दन्य र दुर्दान्त घटना देखेर अलिकति पनि चेत नहुनु ज्युँदो मुर्दा हुनु हो ।

यही भावी दुर्दशा देखेर चिनियाँ राष्ट्रपति सिजिन पिङले लोभी पापीहरुलाई पार्टीमा नआउन र आएका भए तत्काल बहिर्गमन गर्न उद्घोष गरेका हुन् । त्यसैले पार्टीमा बेलैमा शुद्धीकरण नगर्ने हो समूल समाप्ति अपरिहार्य हुन्छ ।

संकटको त्यस बेला अहिले अनेक चुक्ली लगाएर खानेहरु र खान हत्तेहाल्नेहरु मैदान उभिने छैनन् र उभिए पनि तिनलाई कसैले पत्याउने छैन । यस्तो धेरै पटक भएको छ ।

पार्टीमा योग्यता अनुसार उचित काम र जिम्मेदारी पाउने आशमा योग्य नेता र कार्यकर्ता जिन्दगीभर पर्खिएर बसे । तिनले पार्टीमा प्राप्त अवसरलाई भरपूर सदुपयोग पनि गरे तर तिनीहरु चरम निराशामा रहेका छन् ।

यस खालका नेता मण्डली मध्येका एक प्रतिनिधि पात्र इटहरी उपमहानगरपालिकाका रामप्रसाद चौलागाईं हुन् । उनी बाल्यकालदेखि अहिलेसम्म पनि बाम मार्गमा अनवरत लागे । तर तिनलाई इटहरीको नगरपालिकको प्रमुख हुनै नदिने गरी केही नेताले चाल चलेका छन् ।

यस्तो अतिचार हुन थालेपछि असह्य हुन्छ । यस्तो असह्य एक दिन विस्फोट पनि हुनसक्छ ।

यो स्थिति घनश्याम भुसालमा पनि आएको हो र ! हुन त सबै आफ्नै पीडा व्यथामा मात्र रुँदैनन् । यो पनि यस लेखकलाई थाहा छ ।

सबै मान्छे आफूलाई न्याय भए, सर्वत्र न्याय देख्दैनन्, आफू अघाए सबै अघाएको भन्दैनन् । त्यस्ता पात्र र प्रवृत्ति विद्यमान छ, जसले आफू नपरे पनि योग्य पात्रलाई योग्य स्थानमा विराजमान गराउनुपर्छ भन्छ । यस लेखकको सरकार र यसका प्रधानमन्त्रीसित यही एक रोढ्याईं मात्र हो ।

इमान प्रोत्साहित भएन भने त्यो मौलाउँदैन बरु वैलिन्छ, झर्छ र मर्छ । प्रधानमन्त्रीले पानीले आफ्नो आकार र आयाम आफैँ तय गर्छ भनेर उचित जिम्मेवारी नपाएका नेता र कार्यकर्तालाई सम्झाए पनि वहाँ आफैँ पार्टीमा समुद्र सरहको औकात भएर पनि लामो समय खोल्सो भएर बस्नु परेको बिर्सनु हुन्न ।

अझै पनि पार्टीमा इमान बाँकी छ तर यस्तै चालामाला हो भने यो अब समाप्त हुन पनि सक्छ । यही लेखकले सबै खालका आन्दोलनहरुमा मात्र इमान देखाएको होइन । आफन्तलाई जागिरमा सिफारिस गर्ने आफ्नै हातमा अधिकार हुँदा पनि दिएन । यस बापत पत्नी मिथिला पोखरेल अहिले पनि यस लेखकलाई मेरो इमान माथि गिज्याउँछिन् । यो विषय सुनसरी जिल्लामा एक समय चर्चाको शिखरमा थियो ।

पार्टीमा अझ कम्युनिष्ट पार्टीमा अनेक सकस र सङ्कट व्याहार्नु पर्छ परेको देखिन्छ । तङसिआयो पेङ जस्तो उच्च तहका चिनियाँ नेताले जस्तो असह्य मानसिक भौतिक पीडा आजसम्म कसैले भोगेको छैन होला ।

पेङका आफ्ना प्रिय सन्तानहरुको असह्य मानसिक यातना मात्रै होइन असामयिक मृत्यु बेहोर्नु प¥यो । तर पनि उनी धैर्यशील भएर बसे ।
त्यसैले नेता घनश्याम भुसाललाई छाती पिटी पिटी रुन मन लागेको विषय के होला भन्ने कुरामा यो लेखक अन्यौलमा रहेको छ । भुसाललाई अहिले यसरी छाती पिटी पिटी रुनु पर्ने केही कारण अरु पनि हुनसक्छन् ।

सामान्यतयाः भुसालले भनेझैँ छाती पिटी पिटी रुनु पर्ने कारण देखिन्न । पार्टीमा एकाध दुखद् घटिरहन्छन् । केशरजंग रायमाझीले पार्टीलाई दरवारमा बुझाउँदा होस् वा जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गर्दा होस् छाती पिटेर र रुनु पर्ने दिन थिए । होइन एकाध नेताका कमजोरीका कारण रुने, अलल्लिने अताल्लिने हो भने त्यसको ओखती छैन ।

अहिले लगभग देश नै कम्युनिष्टका हातमा छ । तर कमजोरी पनि त्यत्तिकै देखिन्छन् । महामहिम राष्ट्रपति दशैँ टीका विवाद, चीन भ्रमणका बेला भ्रमणदलका कतिपय सदस्यको कृटनीति विपरीत कृत्य तथा तिनको गैह्र व्यवहार आदि विषयले शीतल निवासको वृत्त र भृत्य तहमा संस्कार र संस्कृति शून्य स्थिति देख्दा मन रुन्छ ।

यस्ता बेथिति बारबार देख्दा राष्ट्रपतिले बोल्नै नहुने सुधारात्मक संकेतसम्म पनि गर्न नहुने त हुँदै हुँदैन । तर पनि यस्तै भइरहेको छ ।
ओली सरकारका सकारलाई समेत नकाम र नकार मात्र मिडियावाजी भएकै भरमा बुभ्झकी नेता,कार्यकर्ता र बौद्धिक जनलाई बहकिन सुहाउँदैन । बरु यस लेखकको पनि सरकारलाई सुझाव के छ भने यस सरकारले सुशासनमा ध्यान दिनुपर्छ ।

इटहरीको एक भेटघाट र वार्तामा ने.क.पा. नेता रेवती भण्डारीले सरकारले सुशासनमा मिही रुपमा ध्यान दिनु पर्ने कुरा गरेका थिए ।

नभन्दै अहिले नेपाल सरकारका सबै अड्डा, अदालत र कार्यालयहरुमा यहाँसम्म कि स्थानीय तहहरु नगर पालिका उपमहानगरमा समेतमा सेवाका खातिर गएका तमाम सेवाग्राही जनताहरु त्यहाँका कतिपय कर्मचारीहरुका घुसखोरी, ढिलासुस्ती, अनियमितता, बेथिति तथा गैरजिम्मेवारीका कारण ओली सरकारप्रति रुष्ट बनेका छन् ।

लाखौँको सङ्ख्यामा रहेका जनता यी सबैको कारण ओली सरकारलाई ठान्छन् र सरकार तथा सरकार प्रमुखलाई धारे हात लगाउँछन् र सराप्छन् । आम जनताका दैनन्दिनका नितान्त निजी जीवनमा जब यस्ता दुःख र कष्ट व्यहोर्छन् तबसम्म जनता सरकारका पक्षमा हुँदैनन् । जनता अरु खालको विकासले मात्र खुसी हुँदैनन् ।

सरकारले प्रस्तुत गरेको ०७६/७७ को आर्थिक नीति अन्तर्गत धेरै सकारात्मक योजनाहरु प्रस्तुत गरेको छ । ज्येष्ठ नागरिक भत्ता, फलाम खानी, सुन खानी खोज अभियानजस्ता धेरै आशाप्रद नीति आउँदा पनि रुनु पर्ने कारण देखिन्न ।

कहिले कहिले असाध्य विचलित हुँदा मानिसमा चरम वैराग्य उत्पन्न हुन्छ । अनि कहिले कसैले तपाईं त ठूलो सैद्धान्तिक नेता भनेर उफार्दा पनि उच्चता बोधले आकाश छुन्छ । अनि तदनुसार नहुँदा पनि चरम वितृष्णा उत्पन्न हुन्छ ।

कम्युनिष्ट पार्टी र यसका नेता भनेर मात्र हुँदैन । त्यहाँ पनि रिस, इबी, जलन, प्रतिशोध जस्ता कुरुप पक्ष हुन्छन् । माओलाई उनकै निकटले हत्या सम्मगर्न प्रयत्न गरेका थिए ।

देखासिकी गरिखा जस्ता सकारात्मक इष्र्याले संस्था र व्यक्ति दुवैको भलो हुन्छ । त्यसैले घनश्याम भुसालको भावविह्वल रोदन आंशिक सत्य हो तर पूर्ण भने किमार्थ होइन । झन् अहिले त हुँदै होइन ।