हँसियाले छाती हुँदै पेट चिरेको बालकको सफल उपचार

Newslaya Home

हँसियाले छाती हुँदै पेट चिरेको बालकको सफल उपचार

शुक्रबार २७, बैशाख २०७६

राजविराज । राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले हसिँयाले पेट चिरिएका बालकको सफल उपचार गरेका छन् ।

शुक्रबार हँसियाले छातीबाट पेटमा चिरी सिकिस्त भएका बालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

घरको आंगनमा खेल्दै गर्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरका बिनय रायका ८ वर्षीय छोरा इनरजितको छाती हुँदै पेटसम्म हँसिया छिरेको थियो ।

आफन्तले तत्कालै उनलाई हँसिया छातीमा छिरेकै अवस्थामा अस्पताल पुर्याएका थिए ।

डा. राजिव मिश्राको नेतृत्वमा डा. पारसमणि साह, डा. उदित चौधरी, डा. आदित्य मिश्रासहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचारमा यस्तो सफलता पाएको हो । चार घण्टा लगाएर छाती र पेट दुबैको शल्यक्रिया गर्नुपरेको थियो ।

हँसिया छातीको करंङ्ग हुँदै देब्रेपट्टीको कलेजोलाई पनि छेड्दै पेटसम्म पुगेको चिकित्सकहरुले बताए ।

यसअघि अस्पतालमै एक बालकको आन्द्रामा घाँउ र ट्युमरको जोखीमपूर्ण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो ।