यातायात कार्यालय इटहरीका लेखापाल अधिकारीकी ४ श्रीमती, ५ करोड रुपैया लुकाएको खुलासा

Newslaya Home

यातायात कार्यालय इटहरीका लेखापाल अधिकारीकी ४ श्रीमती, ५ करोड रुपैया लुकाएको खुलासा

सोमबार २३, बैशाख २०७६

काठमाडौं । भ्रष्टाचार मुद्धामा निलम्बित यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले पाँच करोड रुपैया अकुत सम्पत्ति कमाएको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानबाट श्रीमती र आफन्तको नाममा रकम राखेको जनाएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ ।

अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको मुद्धामा उल्लेख छ । लेखापाल अधिकारीले २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमासमेत काम गरेका थिए ।

त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए ।

त्यसपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए । त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म सम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए ।

सोही बेला २०७४ वैशाख ६ मा उनी निलम्बनमासमेत परेका थिए। उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान गरेको थियो।

उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ।

तर उनले सोही अवधिमा झण्डै ६ करोड रुपैया आफन्तहरुको नाममा राखेको पाइएको छ । यसरी हेर्दा उनले पाँच करोड रुपैया अकुत सम्पत्ती देखिएको बताइएको छ ।

पाँच वटा विवाह गरेका उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए ।

लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ ।

लेखापाल अधिकारीसहित उनका श्रीमतीहरु, सासु र मामालाई पनि प्रतिवादी बनाइएको छ ।