स्कुल थिएटरको सातौं श्रृंखला सम्पन्न, बृद्धको भेषमा यसरी पोखीए बालकहरु (फोटोफिचरसहित)

Newslaya Home

स्कुल थिएटरको सातौं श्रृंखला सम्पन्न, बृद्धको भेषमा यसरी पोखीए बालकहरु (फोटोफिचरसहित)

–रेवती निरौला
शुक्रबार १३, बैशाख २०७६

इटहरी । कलालय इटहरीले स्कुल थिएटरको सातौं श्रृंखला सम्पन्न गरेको छ । सातौं श्रृंखला अन्तरगत विद्यालय तहका विद्यार्थीहरुले २ दिनसम्म नाटक मञ्चन गरे । बुधबार र बिहीबार इटहरीमा रहेको किरात राई यायोक्खाको भवनमा २ दिन सम्म सञ्चालन भएको स्कुल थिएटरको सातौं श्रृंखला अन्तरगत विभिन्न सन्देशमुलक नाटकहरु मञ्चन गरियो ।

खासगरी विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरु थिएटरमा प्रस्तुत भएका हुन् । उनीहरुले २ दिनसम्म बृद्ध मानिसको सपना, मूसाहरुको भेला, बृद्धहरुको भेला र प्रकृती गरि ४ वटा नाटक मञ्चन गरे । ५,७ वर्षका साना–साना बालबालिकाहरु समेत विभिन्न भेषमा मञ्चमा निस्किए ।

बृद्धहरुको भेला शीर्षकको नाटकमा भर्खर बोली फुटेका साना नानीहरुलाई जुँगा–दारीको रेखी लगाइ दिएर मञ्चमा उतारिएको थियो । खराब राजनीतिक संस्कारलाई व्यंग्य गरिएको यस नाटकमा साना नानीबाबूहरुले उमेरले भ्याएसम्म अभिनय गरेका थिए । नयाँ मान्छेसँग बोल्न समेत डराउने उमेरका कलाकारहरुले दर्शकहरुको अगाडी नाटक मञ्चन गरेर देखाए ।

कलालय इटहरीले वर्षेनी विद्यालय तहका विद्यार्थीलाई सहभागी गराएर स्कुल थिएटर सञ्चालन गर्दै आएको छ । विद्यालयतहबाट नै विद्यार्थीहरुलाई नाटकतर्फ आकर्षित गर्न वर्षेनी स्कुल थिएटर सञ्चालन गर्ने गरेको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए । “हामीले ९ वर्षदेखि स्कुल थिएटर सञ्चालन गर्दै आएको हौं, बीचमा भूकम्पका कारण २ वर्ष बन्द गर्नुपर्यो।” उनले भने, “तल्लो तहबाटै नाटक क्षेत्रमा नयाँ पुस्ता तयार गर्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउने गरेका छौं ।”

उनका अनुसार यसवर्षको स्कुल थिएटरमा ८५ जना विद्यार्थी सहभागी भएका छन् । इटहरीकै एसओएस बालग्राम, ब्राइट फ्युचर आँपगाछी र आरम्भ विद्या मन्दिर झुम्का रामधुनीका विद्यार्थीलाई समेत सहभागी गराएर झण्डै एक महिनासम्म प्रशिक्षण दिएर तयार पारी मञ्चसम्म ल्याएको उनले बताए ।

कलालयमा नै यसअघि नाटक सिकेका विद्यार्थीहरुले नै नयाँ विद्यार्थीहरुलाई लिएर नाटक निर्देशन गरेका हुन् । उनीहरुले मञ्चन गरेका नाटकले मानिसले प्रकृतिको संरक्षण गर्नुपर्ने, बृद्ध बाबुआमालाई हेला गर्न नहुने सन्देश दिनुका साथै खराब राजनीतिक संस्कारप्रति व्यंग्य प्रहार गरेका थिए ।

वृद्ध मानिसको सपना नामक नाटक विवेक थेलेले, बृद्धहरुको भेला विकास श्रेष्ठले, मूसाहरुको भेला विनय कोइरालाले र प्रकृती नामक नाटक जीवन वस्नेत, प्रज्वल दुलाल र माधव दाहालले निर्देशन गरेका हुन् । नाटकमार्फत पूर्णिमा भट्टराई, करण प्याकुरेल, खेमराज सापकोटा, टीका भण्डारी लगायत दर्जनौं विद्यार्थीहरु मञ्चमा पोखिएका थिए ।