झापामा प्रशासनको भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

Newslaya Home

झापामा प्रशासनको भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

शुक्रबार १३, बैशाख २०७६

बिर्तामोड । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर नागी–६ घर भई हाल कन्काई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङ रहेका छन् ।

बिहीबार राति करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्रशासनको ६६–१–०४१४ नम्बरको गाडीले विपरित दिशाबाटतर्फ जाँदै गरेका हिङमाङलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा राखिएको छ भने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।