‘धर्म प्रचारमा बाधा हुने भन्दै जबरजस्ती गर्भपतन र परिवार नियोजन’

Newslaya Home

‘धर्म प्रचारमा बाधा हुने भन्दै जबरजस्ती गर्भपतन र परिवार नियोजन’

बिहीबार १२, बैशाख २०७६

इटहरी । इटहरीका अभिषेक कार्की र आयुषा चौधरीको प्रेम विवाह भएको हो । 

अभिषेक र आयुषाले धर्म परिवर्तन गरेर क्रिश्चियन बनेका हुन् । धर्म परिवर्तनकै कारण परिवारसँग टाढिएकी आयुषाले अन्तरजातिय विवाहसमेत गरिन् । उनीहरु दुवैले क्रिश्चियनीटीको प्रचारका लागि आफ्नो बाँकी जिन्दगी लगाए ।

हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियुन)’ मार्फत् उनी धर्म प्रचार गरिरहेका छन् ।

विभिन्न चर्चमा डुल्दै, घुम्दै उनीहरुले मानिसहरुलाई इशाइ धर्मबारे प्रचार गरे । सम्पत्ती सके, आयुषाले पाँच पटक गर्भपतन गराइन्, अन्तीम बच्चा फाल्न खोज्दा नसकेपछि जन्म दिइन्, तर आज त्यही बच्चाको कारण उनीहरुको त्यो इशाइ समुदाय उनीहरुसँग छैन ।

‘चर्च जान सकेको छैन,’ अभिषेकले भने, ‘जुन संस्थाको लागि हामी दिन रात लाग्यौं, त्यही संस्थाले हामीलाई विरोधी भनेको छ ।’

उनको घरमा कोरियन सङ जे हुन अन्य चर्चका सदस्यहरुसहित आए अनि आयुषालाई कुटपिट गर्न खोजे । सो क्रममा केही समय घम्साघम्सी नै परेको थियो । ‘मैले १५ वटा प्रश्नको जवाफ मात्र मागेको थिएँ,’ अभिषेकले भने, ‘तर न जवाफ पायौं, न त न्याय, उल्टो विभिन्न आरोप लगाइयो ।’

आयुषा र अभिषेक अहिले क्रिश्यिन समुदायमा विद्रोहीजस्तो देखिएका छन् । आफूहरुमाथि लामो समयदेखि परेको अन्याय अहिले प्रष्फुटन भएको उनीहरुको भनाई छ । नहोस् पनि किन, धर्म प्रचारकै लागि अभिषेकले गर्भ निरोध गरे । आयुषाले त पाँच पटक गर्भपतनसमेत गराइन् ।

‘सन्तान पाउन तिर लाग्यौं भने प्रचारको काम गर्न समय हुँदैन भनेर हामीलाई बच्चा नपाउनु भनिएको थियो,’ अभिषेकले भने, ‘त्योसँगै पृथ्वी सन् २०१२ मा ध्वस्त हुन्छ किन सन्तान जन्माउने भनेर हामीलाई गर्भ तुहाउन प्रोत्साहित गरियो ।’

तर २०१२ मा संसार ध्वस्त भएन । यता उनीहरुको छोरासमेत भयो । अभिषेकको परिवार नियोजन असफल भएपछि उनीहरुको छोरा भएको थियो । गर्भ फाल्न भनेपनि पछि आफू बिरामी भएकोले फाल्न नचाहेको आयुषाले बताइन् । गर्भधारण गरेसँगै आफूहरुमाथि विभिन्न लान्छाना लगाउने र दुव्र्यवहार गर्ने क्रम बढेको उनीहरु बताउँछन् ।

घटनापछि उनीहरुले पृथ्वी ध्वस्त किन नभएको ? आफूहरुलाई किन दुव्र्यवहार गरेको भन्दै प्रश्न राख्न थाले । चर्चमा रहेका नेपालीहरुलाई दुव्र्यवहार गर्ने गरिएको उनीहरुको गुनासो छ ।

तिनै कोरियालीको निर्देशनमा उनीहरुको घरमै गएर कुटपिट गरेपछि दम्पत्तीसहितका आफन्तहरुले इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार किटानी जाहेरी दिएका थिए । तर ती कोरियाली नागरिक इटहरीमा नभएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

यी दम्पत्रीले इसाई धर्म प्रचार गर्ने क्रममा आफ्नो नामको सम्पत्तिसमेत सिध्याएको बताएका छन् । उनको नाममा आएको तालतलैयाको १ कठ्ठा जग्गासमेत बिक्री गरेको अभिषेक बताउँछन् 

पछिल्लो समय आफूलाई विरोधी भन्दै आक्रमण गर्न खोजिएको र समुदायबाट एक्ल्याउने प्रयास भएको उनले गुनासो गरेका छन् ।