एक दिनमै बन्यो भारोत्तोलनमा ११ राष्ट्रिय कीर्तिमान

Newslaya Home

एक दिनमै बन्यो भारोत्तोलनमा ११ राष्ट्रिय कीर्तिमान

शनिबार ०७, बैशाख २०७६

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलमा शुक्रबार ११ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् ।

महिला ४५ केजी तौल समूहमा नेपाल आर्मीकी रिता गुरुङले तीन वटा राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण हात पारिन् । रिताले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन वटा राष्ट्रिय कीर्मिमान बनाएकी हुन् । उनले स्न्याचतर्फ ४५ केजी उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै क्लिन एन्ड जर्कतर्फ ५० केजी भार बहन गर्दै अर्को कीर्तिमान बनाइन् । उनले समग्रमा ९५ केजी तौल उचालेर तेस्रो कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यो तौल समूहमा प्रदेश ५ की हिरामोती चौधरीले रजत जित्दा प्रदेश २ की काजल सदाले कास्य जितिन् ।

महिलाकै ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राईले पनि तीन वटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । उनले पनि स्न्याच, क्लिन एन्ड जर्क र समग्र गरी तीन वटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ५८ केजी भार बहन गरेर कीर्तिमान बनाइन् । यस्तै क्लिन एन्ड जर्कमा ७५ केजी उचालेर नयाँ कीर्तिमान बनाएकी उनले समग्रमा १ सय ३३ भार बहन गरेर अर्को कीर्तिमान बनाउन सफल भइन् ।

यो तौल समूहमा प्रदेश १ की करिना चौधरीले रजत र प्रदेश ५ की पवित्रा थापामगरले कास्य जितेकी छिन् ।

पुरुष ५५ केजी समूहमा पनि नेपाल आर्मीका तुलाराम महतोले २ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारे । उनले स्न्याच र कुलमा गरी २ वटा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । स्न्याचमा उनले ८० केजी तौल उठाए । क्लिन एन्ड जर्कमा ९५ केजी उठाएका महतोले कुलमा १ सय ७५ केजी तौल उठाएर स्वर्ण हात पारेका हुन् ।

यो तौल समूहमा नेपाल पुलिसका गणेश रानाभाटले रजत र प्रदेश ७ का रविलाल चौधरीले कास्य हात पारे ।

पुरुष ६१ केजी तौलमा नेपाल आर्मीका राजु चौधरीले स्वर्ण जित्दा २ वटा राष्ट्रिय कीर्तिमान बनाए । चौधरीले क्लिन एन्ड जर्क र कुलतर्फ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले स्न्याचमा ९० केजी उठाएका थिए । क्लिन एन्ड जर्कमा १ सय १० केजी उठाएका चौधरीले राष्ट्रिय कीर्तिमान बनाए । यस्तै कुलमा २०० केजी भार बहन गर्दा उनी राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भए ।

यो तौल समूहमा नेपाल पुलिसका मुल लामाले स्न्याचतर्फ राष्ट्रिय कीर्तिमान बनाए । उनले स्न्याचमा ९२ केजी तौल उठाए । क्लिन एन्ड जर्कमा १ सय १० केजी मात्र उठाएपछि उनी रजत पदकमा खुम्चिए । उनी कुलमा ३ केजीले पछि परेका थिए । कुलमा १ य ८१ तौल उठाएका आर्मीका सन्तोस थपलियाले कास्य जिते ।