वृद्धभत्ता हटाउने तयारी, अनुत्पादक लगानी भएको ठहर

Newslaya Home

वृद्धभत्ता हटाउने तयारी, अनुत्पादक लगानी भएको ठहर

शुक्रबार ०६, बैशाख २०७६

काठमाडौं । सरकारले वृद्धभत्ता हटाउने भएको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै हटाउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको हो ।

सरकारको प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैं राख्न सकिँदैन, राखिँदैन ।’

बाँस्कोटाले वृद्धभत्ताको सुरुवात कम्युनिस्टले गरेको भन्दै बढाउने वा व्यवस्थित गर्ने कुरामा अरुले चिन्ता लिनुनपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने स्पष्ट पारे ।

सन्तानलाई आमाबुवाप्रति उत्तरदायी बनाउने सरकारको योजना रहेको उनले बताए । पाहुनालाई समेत पाल्ने नेपाली समाजमा जिन्दगीभर छोराछोरी हुर्काउने आमाबुवा जीवनको उत्तरार्धमा सरकारी वृद्धभत्ता र आश्रमको शरणमा बाँच्नुपर्ने खराब संस्कार विकसित हुन नदिन सरकार सचेत रहेको उनले प्रष्ट पारे ।

मन्त्री बाँस्कोटाले ज्येष्ठ नागरिकको जीवनको सुरक्षाका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हुने र यसैका लागि सरकारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको बताए ।