जेट एयरवेजः सम्पूर्ण उडान स्थगित, नेपालबाट दिल्ली जाने अरू विमानमा चाप

Newslaya Home

जेट एयरवेजः सम्पूर्ण उडान स्थगित, नेपालबाट दिल्ली जाने अरू विमानमा चाप

शुक्रबार ०६, बैशाख २०७६

बिबिसि । समस्याग्रस्त भारतीय हवाईजहाज कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको छ । उक्त कम्पनीले नेपाल तर्फको उडान गत सोमबारदेखि बन्द गरेको जेट एयरवेजका अधिकारीहरूले जनाएका छन् ।

सबै उडान स्थगित गर्नुअघि जेट एयरवेजले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो । तीमध्ये भारतको राजधानी नयाँ दिल्लीमा दैनिक चारवटा र मुम्बईमा एउटा उडान हुन्थे ।

जेट एयरवेजले नेपाललाई एउटा राम्रो अन्तर्राष्ट्रिय गन्तव्य मान्ने गरेको थियो।

टिकट पाउनै गाह्रो
जेट एयरवेजका उडान स्थगित भएपछि काठमाण्डूबाट एअर इन्डिया, इन्डिगो र नेपाल वायुसेवा निगमका विमानले मात्रै भारततर्फ उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले जानकारी दिए ।

जेट एयरवेजका उडान स्थगित भएपछि अन्य विमानसेवामा यात्रुको चाप बढेको छ । अरू विमानको अधिकांश टिकट बिक्री भइसकेको हुनाले जेट एयरवेजको टिकट किनिसकेका यात्रु र अन्य नयाँ यात्रुलाई दिल्ली र मुम्बईको टिकट पाउन गाह्रो भएको छ ।

पौडेलका अनुसार एअर इन्डियाले काठमाण्डूबाट नयाँ दिल्लीतर्फ दिनको दुईवटा उडान र काठमाण्डूबाट कोलकाता हप्तामा तीनदेखि चारवटा उडान सञ्चालन गर्ने गरेको छ ।

त्यस्तै इन्डिगोले नयाँ दिल्लीतर्फ दैनिक एउटा उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले दैनिक दुईवटा उडान गर्दै आएको छ ।

नेपाल वायुसेवा निगमले एक दिन मुम्बई र एक दिन बैङ्ग्लोर गरेर प्रत्येक दिन एउटा उडान गर्दै आएको छ ।

सीधा र नियमित उडान नभए पनि भुटानको रोयल भुटान एअरलाइन्स र ड्रुक एयरको विमानहरूले पनि काठमाण्डूबाट विभिन्न भारतीय सहरलाई जोड्ने गरेका छन् ।