काठमाडौमा जन्मिने बाच्छाबाच्छीको जन्मदर्ता अनिवार्य

Newslaya Home

काठमाडौमा जन्मिने बाच्छाबाच्छीको जन्मदर्ता अनिवार्य

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौमा गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ ।

महानगरक्षेत्रमा काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो ।

गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए ।

चिप्स जडान गरेपछि गाईधनीको नाम, कसले कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ । कामपाले यसअघि सिंहदरबारको कुकुरमा चिप्स जडान गरिसकेको छ ।

कामपाको तथ्यांकअनुसार करिब ८ सयको हाराहारीमा गाईबस्तु रहेका छन् ।

अब गाईले बच्चा जन्माएलगत्तै त्यसको जन्मदर्ता गर्ने व्यवस्था समेत गर्न लागिएको बताइएको छ । जन्मदर्ता भएलगत्तै गाईधनीलाई जन्मदर्ता प्रमाणपत्र दिने र सोही आधारमा चिप्स जडान गरिने सापकोटाको भनाइ छ ।

चिप्स जडान गरेपछि गाईको सम्पूर्ण रेकर्ड कामपासँग हुनेछ । चिप्स जडान गरेपछि उनीहरु कुन स्थानमा कस्तो अवस्थामा रहेका छन्लगायतका विषयमा समेत अनुसन्धान गरिनेछ । गाईबस्तुको जन्मदर्ता नगरे महानगरले उपलब्ध गराउने सुविधाबाट वञ्चित गरिनेछ ।