पैसा बचाउने ८ टिप्स

Newslaya Home

पैसा बचाउने ८ टिप्स

शनिबार ३०, चैत २०७५

धेरै मानिसहरु नकमाएर होइन, जोगाउन नसकेर गरीब हुन्छन् । सधै पैसाको समस्या हुन्छ । त्यसैले यहाँ पैसा बचाउने केही तरिकाहरु दिइएको छ ।

१। खर्चलाई टिप्ने बानी बसालौं
सबैभन्दा पहिला जाँगर चलाएर हरेक दिन गर्ने खर्चलाई टिप्ने बानी बसाल्नुहोस् । यस्ता सानासाना आवश्यकतामा खर्च भइरहेपनि मानिसहरुलाई यसको बारेमा थाहा भइरहेको हुँदैन ।
त्यसैले दिनभरिमा गरेको खर्चलाई बेलुका घरमा पुगेर त्यसलाई डायरीमा टिप्ने बानी गर्नुभयो भने तपाईले दिनभरिमा गरेका खर्चको जानकारी हुन्छ । यसले भोलिपल्ट हुने खर्चलाई बचाउँछ ।

२। खर्चको योजना बनाउनुहोस्
तपाईले मासिक रुपमा गर्ने खर्चको पहिले नै योजना बनाउनु आवश्यक छ । यसले तपाईको आवश्यकता के र त्यसमा पनि प्राथमिकीकरण गर्न सहयोग गर्छ ।
यसरी महिनामा गर्ने खर्चलाई पहिले नै योजना बनाएको हुनाले विशेष परिस्थिति बाहेक अन्य अवस्थामा त्यो भन्दा धेरै खर्च हुने छैन ।

३। बचतको योजना
अब खर्चलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । खर्चको विषयमा योजना बनाउँदै सँगसँगै बचतको विषयमा पनि योजना बनाउनु पर्छ । हरेक महिना हुने आम्दानीको २० देखि ३० प्रतिशत सम्म बचत गर्ने बानी गर्दा राम्रो हुने विज्ञहरु बताउछन् ।
हामीले महिनाको अन्त्यमा तलब पाउने वित्तिकै, बैंकमा अर्को छुट्टै खाता बनाएर त्यसमा पैसा जम्मा गर्न सकिन्छ । जुन पैसा अत्यावश्यक बाहेक अन्य बेलामा प्रयोग नगर्ने विषयमा आफुलाई दह्रो बनाउनु पर्छ ।

४। उद्देश्य निधारण गर्ने
पैसा बचत गर्दैगर्दा यति महिना पछि यति पैसा जम्मा गरेर यो कुरामा खर्च गर्छु भन्ने योजना बनाउनु पर्छ । मानौं यो दशैमा मोटरसाइकल किन्ने वा ल्यापटप किन्ने उद्देश्य राखियो भने दशै सम्ममा गर्ने विभिन्न खर्चलाई बचाएर आफ्नो उद्देश्य पुरा गर्नमा निकै मेहनत गरिन्छ ।
यसरी खर्चको उद्देश्य बनाउँदा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बनाउनु पर्छ ।

५। प्राथमिकता छनोट गर्ने
बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ ।

६। बढिरहेको बचतको बारेमा जानकारी लिइरहने
बैंकमा भएको बचतलाई बेलाबेलामा गएर हेरिरहने बानि गर्नाले पनि बचतलाई प्रोत्साहन गर्न सहयोग मिल्छ । यसरी बचत हेरिरहँदा अघिल्लो महिनाको बचत भन्दा कम भएमा त्यसले झस्काउँछ ।

७। साप्ताहिक रुपमा खर्च गर्ने
हप्ताभरि आवश्यक पर्ने वस्तुलाई पहिले नै टिपोट गरेर हप्तामा एक पटक मात्रै खर्च गर्दा अनावश्यक खर्च कम हुन्छ । यस्तै, एकै पटक एउटै पसलमा गएर सामान खरिद गर्दा पसलबाट छुट पनि पाइने संभावना हुन्छ ।

८। घरमा खाने बानी बसाल्ने
हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ । यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ ।