रोजगारीका लागि भारत गएका १६५ जना नेपाली बेपत्ता

Newslaya Home

रोजगारीका लागि भारत गएका १६५ जना नेपाली बेपत्ता

शुक्रबार २९, चैत २०७५

डोटी । रोजगारीका लागि भारत गएका १६५ जना नेपाली बेपत्ता भएका छन् । एक संस्थाको तत्थ्याङ्कका अनुसार सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएका हुन् ।

निड्स नेपाल नामक गैरसरकारी संस्थाले सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरेको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए ।

रोजगारीका लागि स्थानीयवासी वर्षेनी भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरु बढ्न थालेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको बताए ।

कामका लागि भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताए । प्रहरी नायब उपरीक्षक धामीले भने, “बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि अप्ठेरो हुने गरेको छ ।”

भारत गएकाहरु कहाँ के भएर बेपत्ता हुन्छन् भन्ने कुरा कुनै पनि परिवार र संस्थासँग आधिकारिक जानकारी नहुँदा पनि खोजीमा समस्या हुने गरेको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।