एमाले नेता घनश्याम खतिवडाको निर्वाचन क्षेत्रमा क्रसरको दादागिरी, सुनुवाई नभएपछि स्थानीयको धर्ना

Newslaya Home

एमाले नेता घनश्याम खतिवडाको निर्वाचन क्षेत्रमा क्रसरको दादागिरी, सुनुवाई नभएपछि स्थानीयको धर्ना

बुधबार २७, चैत २०७५

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका १ बाट क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । विभिन्न ठाउँमा गरिएको माग र उजुरी सुनुवाई नभएपछि स्थानीयवासीले सडक किनारमै त्रिपाल टाँगेर रिले अनशनसमेत गरिरहेका छन् ।

मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसरहरु हटाउनुपर्ने उनीहरुको माग हो । तर नयाँ क्रसर उद्योगसमेत सञ्चालन हुन थालेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

सो वडाको झारसादी, तीनखोप्रे, चारघरे, खयरबारी बस्ती क्षेत्रमा पूर्वेली र पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा रहेका छन् भने महापाथीभरा क्रसर, सिद्धार्थ क्रसर र देवीस्थान मिनिरल्स क्रसर उद्योग सञ्चालनको तयारीमा छन् ।

क्रसर सञ्चालन गर्न राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको छ । तर, यी मापदण्ड यहाँका क्रसर उद्योगले पूरा गरेका छैनन् ।

पूर्वेली क्रसर उद्योग बक्राहा खोलाकै धारमा सञ्चालन गरिएको छ भने पञ्चेश्वर क्रसर उद्योग मानव बस्तीकै बीचमा छ ।

पूर्वेली क्रसर उद्योग सञ्चालन भएको नजिक शारदा माध्यमिक विद्यालय छ । अरु तीन क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधीन छन् ।

क्रसरविरुद्धको उजुरी सुनुवाइ नभएपछि स्थानीयवासीले उच्च अदालत विराटनगरमा गत माघ १ गते रिट दायर गरेका थिए । सो रिटको समेत अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।

क्रसरका कारण मानवबस्तीसँगै विद्यालयमा धुलो धुँवा र ध्वनी प्रदुषणले समस्या गरेको शारदा माविका प्राध्यानाध्यापक सूर्य दाहालले बताए।

राति अबेरसम्म उद्योग सञ्चालन हुँदा बालबालिकाको पठनपाठनमा असर परेको स्थानीय तुलसा थापा बताउँछिन् ।

संघर्ष समितिका संयोजक सम्मरबहादुर राईले क्रसरका कारण बर्खाको समयमा बस्ती नै डुबानमा पर्ने जोखिम रहेको राईले बताए ।

यसैबीच स्थानीयवासीले आन्दोलन शुरु गरेपछि मोरङ क्षेत्र नं १ का सङ्घीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा, नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीलगायतले स्थलगत अवलोकन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।

नगर प्रमुख फागोले क्रसर स्थापनाका लागि नगरपालिकाले सिफारिश नदिएको बताउँदै स्थानीय तहलाई क्रसर नियन्त्रणसम्बन्धि अधिकार नभएको बताए ।