​सरकारले तीन सय बिजुली बस किन्दै

Newslaya Home

​सरकारले तीन सय बिजुली बस किन्दै

मङ्गलबार २६, चैत २०७५

काठमाडौं । विद्युतीय यातायात सञ्चालनलाई सरकारले प्राथमिकता दिएको छ । काठमाडौं र अन्य ठूला सहरमा ३ सय विद्युतीय बस सञ्चालनबारे मन्त्रिपरिषदले आवश्यक प्रक्रिया अघि बढाएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विश्व हरित वृद्धि संस्था ‘जिजिजिआइ’सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए । बस्नेतले जिजिजिआईसहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे ।

जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको बताउँदै बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रीक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा वन सचिव डा. विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित सहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जिजिजिआईका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्सर्जन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा जिजिजिआई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो ।

जिजिजिआई संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुनको प्रयत्नमा स्थापित अन्तरसरकारी संस्था हो । हालसम्म ३२ देशले यसको सदस्यता लिइसकेका छन् । नेपालले विगत दुई वर्षदेखि जिजिजिआईसँग काम गर्दै आएको छ । 

यसअघि वन मन्त्रालय र साझा यातायातसँग मिलेर विद्युतीय यातायात सञ्चालन गर्न कार्ययोजना तयार गर्न सहयोग गरेको जिजिजिआईले विद्युतीय यातायातमार्फत हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखेको सो संस्थाले जनाएको छ ।