​लिबियामा दुई पक्षीय भीषण संघर्ष, ३२ को ज्यान गयो, नेपाली सेना सुरक्षित

Newslaya Home

​लिबियामा दुई पक्षीय भीषण संघर्ष, ३२ को ज्यान गयो, नेपाली सेना सुरक्षित

सोमबार २५, चैत २०७५

काठमाण्डौ । लिबियाको राजधानी त्रिपोलीमा सरकारी सेना र विद्रोहीबीच भएको भिडन्तमा ३२ जनाको ज्यान जानुका साथै ५० जना बढी घाइते भएका छन् ।

लिबियामा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मार्फत २ सय ३१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेपनि अहिलेसम्म कुनै क्षती नभएको जनाइएको छ । 

त्रिपोलीस्थित मिसन हेडक्वार्टरमा यूएन मिसनका उच्च पदाधिकारीहरुको सुरक्षार्थ नेपाली सैनिकहरु खटेका हुन् । त्यहाँ खटेका नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।  

त्रिपोली नजिक खलिफा हफ्तार समर्थित लडाकुहरु र त्यहाँको सरकारबीच राजधानी कब्जा गर्ने उद्देश्यसहित दुवै पक्षबाट हवाई आक्रमणका घटना भइरहेका छन् ।

संयुक्त राष्ट्र संघ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुवै पक्षलाई आग्रह गरे पनि भिडन्तहरु रोकिएका छैनन् । 

सन् २०११ मा  लिबियाका तानाशाही नेता मुअम्मर गद्दाफीको अन्त्यपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ ।