​आइपिएलमा बन्यो कीर्तिमान : ३.४ ओभरमा १२ रन खर्चेर ६ विकेट

Newslaya Home

​आइपिएलमा बन्यो कीर्तिमान : ३.४ ओभरमा १२ रन खर्चेर ६ विकेट

आइतबार २४, चैत २०७५

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार राति नयाँ कीर्तिमान बनेको छ । मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराउँदै गर्दा उक्त कीर्तिमान बनेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद मुम्बईसँग ४० रनले पराजित भएको हो ।

१३७ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर चार बलमा सबै विकेट गुमाएर मात्रै ९६ रन बनाउन सक्यो । उसका लागि दीपक हुड्डाले २०, मयंक पाण्डेय र जोनी बाइर्स्टोले समान १६ तथा डेविड वार्नरले १५ रन बनाए । 

मुम्बईका अल्जारी जोसेफले ६ विकेट लिए । उनले मात्रै १२ रन खर्चेर ६ विकेट लिएका हुन् ।

३ ओभर ४ बलमा १२ रन खर्चेर ६ विकेट लिएका जोसेफले आइपिएलमा कीर्तिमान बनाएका छन् । उनले ११ वर्षअघिको कीर्तिमान भंग गरेर एक खेलमा सर्वश्रेष्ठ बरल बनेका छन् ।

यसअघि यो कीर्तिमान राजस्थान रोयल्सबाट खेलेका पाकिस्तानी खेलाडी सोहेल तनवीको नाममा थियो । उनले चेन्नई सुपरकिंग्ससँगको खेलमा चार ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए ।

जोसेफले अर्को कीर्तिमान पनि बनाएका छन्, त्यो हो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन । तर  उनी शनिबार राति आइपिएलमा पहिलो पटक खेलेका थिए । उनी वेस्ट इन्डिजका खेलाडी हुन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले सात विकेटको क्षतिमा १३६ रन बनायो । उसका लागि किरोन पोलार्डले २६ बलमा ४६, क्वीन्टन डी ककले १८ बलमा १९ तथा इशान किशानले २१ बलमा १७ रन बनाए ।