​पत्ता लाग्यो आँधीको रहस्य : नेपालमै पहिलोपटक खतरनाक ‘टोर्नाडो’ आएको पुष्टि

Newslaya Home

​पत्ता लाग्यो आँधीको रहस्य : नेपालमै पहिलोपटक खतरनाक ‘टोर्नाडो’ आएको पुष्टि

शनिबार २३, चैत २०७५

काठमाडौ । गत आइतबार बारा, पर्सामा आएको आँधी  ‘टोर्नाडो’ भएको विज्ञले बताएका छन् ।टोर्नाडो नेपालको इतिहासमै पहिलो पटक आएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले टोर्नाडो आएको पुष्टि गरेको हो ।

टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुने र त्यसले ठूलो विनाश गर्ने गर्छ । साथै यसले छोएका हरेक भौतिक वस्तु माथितिर उखेलिन्छन् ।

आँधीबेहरीभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । उनका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ। त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।

भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए । 

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्बिरमा प्रस्ट देखिएको उनले बताए । श्रेष्ठले भने, ‘अझ स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका छौँ ।’