​‘मिस नेपाल’मा निर्णायकले युवतिलाई ‘किन मेकअप नगरेको’ भन्दै हप्काएपछि... (भिडियोसहित)

Newslaya Home

​‘मिस नेपाल’मा निर्णायकले युवतिलाई ‘किन मेकअप नगरेको’ भन्दै हप्काएपछि... (भिडियोसहित)

शुक्रबार २२, चैत २०७५

इटहरी । नेपालमा हुने ‘मिस नेपाल’ प्रतियोगितालाई लिएर बारम्बार विवाद भइरहने गरेको पाइन्छ । मिस नेपाललाई महिलाको रुप बेच्ने कारखाना भन्दै कतिपय महिलाले पनि विरोध गरेका छन् । 

यतिबेला भने मिस नेपाल अर्कै कारणले चर्चामा आएको छ । मिस नेपाल चर्चामा आउनुको कारण हो  प्रतियोगिताको अडिसनमा सोधिएको एउटा प्रश्न ।

मिस नेपालमा सोधिएको उक्त प्रश्न सामाजिक सञ्जाल फेसबूकमा निक्कै भाइरल बनेको छ । 

उक्त भिडियोमा मिस नेपालकी सहभागी अस्मिता महर्जनले आफ्नो परिचय दिइसकेपछि निर्णायक रचना गुरुङले प्रश्न सोध्छिन् ‘‘तिमीले किन मेकअप नगरी आयौ ? ’ 

प्रतियोगीले इमान्दारपूर्वक मुस्कुराउँदै भन्छिन् – ‘वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन ।’

निर्णायकले अर्को प्रश्न गर्छिन् ‘‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको ? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘म सिक्नेछु ।’

निर्णायकले अन्तिम निर्णय सुनाउँदै भन्छिन् – ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर गर्‍यौ ।’

त्यसपछि निर्णायकको प्रश्न प्रतियोगीको खुबीमा होइन कि, आँखामा लगाएको चश्मातिर ढल्किन्छ । उनले सोध्छिन् – ‘तपाईंको आँखामा लगाएको चश्माको पावर कति हो ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘०.५’

निर्णायकले अर्को प्रश्नको झटारो हान्छिन् – ‘तपाईं कन्ट्याक लेन्स प्रयोग गर्नुहुन्छ ?’

प्रतियोगीले भन्छिन् – ‘गर्छु ।’

फेरि निर्णायकको प्रश्न आउँछ – ‘किन नलगाएको त ?’

प्रतियोगीले जवाफ दिन्छिन् – ‘म स्कुटीमा आउनुपर्ने थियो । र, काठमाडौंमा धूलो बढी हुने कारणले चश्मा प्रयोग गरेकी हुँ ।’

यो भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले मेकअपलाई मिस नेपालमा अनिवार्य बनाएको र मेकअप गर्न नजान्ने सुन्दरीहरुलाई अपमान गरेको भन्दै युवतीहरुले नै विरोध गरिरहेका छन् ।