​नेपालमा भेटियो नयाँ प्रजातीको माउसुली

Newslaya Home

​नेपालमा भेटियो नयाँ प्रजातीको माउसुली

मङ्गलबार १२, चैत २०७५

काठमाडौँ । नेपालमा नयाँ प्रजातिको माउसुली फेला परेको छ । फेला परेको माउसुलीमा बाघको जस्तै सुन्दर पाटा भएकाले यसलाई ‘बाघे माउसुली’ नाम दिइएको छ । 

जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा भेटिएको हो । 

युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा पाइने माउसुलीमध्ये यो ११औँ प्रजाति भएको सरिसृपविज्ञ करण शाहले जानकारी दिए । 

विश्वमा ३८ प्रजातिका माउसुली छन् । यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ । रातमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्नु यसको विशेषता हो ।  

नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति पुष्टि गरेको हो । 

उक्त माउसुलीको बारेमा अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ । हेर्दा नै आकर्षक भएकाले विदेशमा मानिसले पाल्ने गरिएको सरिसृपविज्ञ शाहले बताए । 

यसले सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने गर्छ । यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ । 

जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताएका छन् ।