​पूर्वमा सक्रिय बन्दै विप्लव माओवादी

Newslaya Home

​पूर्वमा सक्रिय बन्दै विप्लव माओवादी

सोमबार ११, चैत २०७५

विराटनगर । पश्चिममा प्रहरीले विप्लव माओवादीविरुद्धको अप्रेसनलाई तीब्र पारिरहेको बेला विप्लव माओवादी पूर्वमा सक्रिय बनेको छ । 

पूर्वी कमान्डमा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई उसले तीब्र पारेको हो । गत शुक्रवार मात्र उसले दोस्रो चरणको यो अभियान सकेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सम्पन्न २ महिने अभियान ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ चलाएको उसले यसको समीक्षा जनकपुर ब्युरोमा गरेको थियो ।

पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा ुविरहीुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य तथा जनकपुर ब्युरो अभियानकी कमान्डर उमा भुजेलसमेत सहभागी रहेको खुलेको छ ।

जनकपुर ब्युरोमा मात्र यो अभियानका क्रममा दुई हजार ५७० जनालाई सदस्यता वितरण गरेको दाबी गरेको भुजेललाई उदृत गर्दै मुखपत्र रातोखबरले लेखेको छ ।

सो क्रममा २६१ वटा जनवर्गीय संगठनका कमिटीहरु, २७ वटा पार्टी सेल कमिटी निर्माण गरिएको दाबी भुजेलले गरेकी छन् । 

त्यस्तै मेची ब्युरोमा दुई वटा श्रमदान, १९ वटा सांस्कृतिक कार्यक्रम, पिंढीसभा–कोणसभा २२ वटा, १ सय ४४ वटा  जनवर्गीय संगठनका कमिटी, १० वटा पार्टी सेल कमिटी निर्माण भएका छन्।

त्यस्तै कोशी ब्युरोले जनवर्गीय सङ्गठनका १ सय ४४ वटा कमिटी, १८ स्थानमा साँस्कृतिक कार्यक्रम, ११५ वटा पिंढीसभा–कोणसभा र १२ वटा जनसभा सम्पन्न गरेको जनाएको छ।

त्यस्तै सगरमाथामा पनि अभियान सकेको बताइएको छ । प्रतिवन्धित नेकपाले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान–३’ अर्को दुई महिने अभियान चलाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।