होलीको दिन धरानमा भएको घटनाका दोषिहरु पक्राउ

Newslaya Home

होलीको दिन धरानमा भएको घटनाका दोषिहरु पक्राउ

आइतबार १०, चैत २०७५

धरान । गत विहिबारको होलि पर्वमा आपराधिक गतिविधिमा संलग्न रहेका ३५ जना युवाहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । 

होलिका दिन भएका विभिन्न घटनाहरुमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई घटनाको आधारमा फरक फरक अभियोगमा मुद्धा चलाएको छ । युवाहरु लाई घरेलु हातहतियार सहित पक्राउ गरेको थियो । होलिको दिन १ जनाको छुरा प्रहार बाट मृत्यु भएको थियो । प्रहरीले १६ जनालाई विभिन्न ३ फरक अभियोगमा मुद्दा चलाएको प्रहरी कार्यालयका प्रमुख सुमन तिम्सिनाले बताए । 

उनका अनुसार होली पर्वको दिन बिहिबार धरानमा छुरा प्रहार गरी धरान ९ स्थित बगैचालाइनमा धरान ८, सिद्धार्थ मार्गका २० बर्षीय निमा तामाङको हत्या भएको थियो । उनको साथी धरान ८ कै १७ बर्षीय मिलन बिकमाथि पनि छुरा प्रहार भएको थियो । उनी भने सामान्य घाइते मात्र भएका थिए । 

प्रहरीले उक्त घटनामा संलग्न चारै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त हत्या घटनामा धरान ८ का १८ बर्षीय सुसान्त लिम्बु, १७ बर्षीय निश्चल बिक, १८ बर्षीय शरण राई र धरान ७ स्थित पानवारी बस स्टेण्डका १८ बर्षीय मनिष लावती लिम्बु छन् । चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा दर्ता भएको छ । 
त्यसै गरि होलीको दिन हतियार सहित पक्राउ परेका पक्राउ परेका ५ जनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । उनीहरुलाई शुक्रबार जिल्ला अदालतले ४ दिनको म्याद थप गरी अनुसन्धानमा राख्न अनुमति दिएको छ ।
बिहिबार दिउँसो करिब २ बजे धरान ७ शान्तिपथमा धरान ५ देउरालीका २३ बर्षीय सुजन भुजेल र १९ बर्षीय राजन राईमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले धरान १५ का २० बर्षीय प्रशान्त लिम्बु, १९ बर्षीय आविष्कार लिम्बु, १९ बर्षीय रोशन तामाङ, १९ बर्षीय बिजु भुजेल र वडा १४ का १९ बर्षीय अभिषेक मगर गरी ५ जना पक्राउ परेका थिए । उनीहरुबाट बञ्चरो, कट्टी, खुर्पासमेत बरामद भएको थियो । घटनामा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परेपछि पाँचै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै होलीकै दिन विनाकारण निहु खोजी अपशब्द प्रयोग गरेर अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । उनीहरुलाई बिहिबार दिउँसो करिब ४ बजे धरान ७ स्थित पानवारा बस स्टेण्ड नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेहरुमा धरान १० का २७ बर्षीय राजकुमार श्रेष्ठ, धरान १५ का १९ बर्षीय दिपक लिम्बु, १९ बर्षीय एल्वीस राई, वडा ११ का १९ बर्षीय रुपा राई, वडा ५ का १९ बर्षीय विनोद राई , वडा १५ का २० बर्षीय जेनिष राई, वडा ३ का २० बर्षीय आकाश मुखिया र २७ बर्षीय कमल मल्ल ठकुरी रहेका छन् । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिई अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

होलीमा पक्राउ परेकाहरु अधिकांश ३० बर्ष मुनिका युवा तथा किशोरहरु छन् । छुरा हानी हत्या घटनामा संलग्न चार जना मध्ये ३ जनाको उमेर १८ बर्षको छ भने एक जना १७ बर्षका मात्र छन् । कानुनले १८ बर्ष उमेर नपुगेकालाई नाबालक भनेको छ ।