​१८ गतदेखि त्रिभुवन विमानस्थलमा रातिका उडान बन्द हुने, यस्तो छ कारण

Newslaya Home

​१८ गतदेखि त्रिभुवन विमानस्थलमा रातिका उडान बन्द हुने, यस्तो छ कारण

बुधबार ०६, चैत २०७५

काठमाण्डौ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अर्थात विमान गुड्ने ठाउँमा धेरैपटक चिरा पर्न थालेपछि रातिका उडान बन्द गरिने भएको छ । 

अहिले २१ घण्टा चल्दै आएको विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरानो पिच पुरै भत्काएर नयाँ पिच बनाउन थालेपछि आउँदो १८ गतेदेखि दैनिक १४ घन्टा मात्रै विमानस्थलमा उडान हुने भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच नफेरेको ५० वर्ष भएको जनाइएको छ । २०१२ सालदेखि ठुला विमान चल्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हरेक १०÷१२ वर्षमा पिच परिवर्तन गर्नुपर्ने भएपनि धावनमार्ग अहिलेसम्म पनि टालटुलकै भरमा चलाइएको छ ।

पिच नफेर्दा बेला–बेलामा पिच उप्कन्छ, अनि उडान र अवतरण बन्द गर्नुपर्छ, यस्तो गर्दा उड्ने जहाज उड्न पाउँदैनन भने काठमाण्डौ आउँदै गरेका जहाजले आकासमै फन्को लगाउनुपर्छ । 

३ हजार ५० मिटर लामो धावनमार्गमा ३० सेन्टिमिटरदेखि ५३ मिटरसम्म गहिराइ सम्मको पुरानो पिच फालेर नयाँ हालिनेछ । 

धावनमार्गमा नयाँ पिच हाल्ने भएपछि अब बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ । अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान र अवतरण हुने विमान कम्पनीलाई जानकारी गराएर बिहान ८ देखि राति १० बजेसम्म उडान र अवतरण गर्न भनिएको छ ।