​विप्लव खोज्दै नेपाली सेना गाउँ पस्यो

Newslaya Home

​विप्लव खोज्दै नेपाली सेना गाउँ पस्यो

बुधबार ०६, चैत २०७५

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई पक्राउ गर्न नेपाली सेना गाउँ पसेको छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा कालिकोटको गाउँ केन्द्रित भएको हो।

रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए। 

नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा जिल्लाका सुरक्षा निकायले गस्ती अभियान तीव्र बनाएको हो। नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए।

नेकपा निकट युवा संगठन नेपालका कर्णाली ब्युरो इन्चार्ज शीतल विष्टले सरकारका गतिविधिको सशक्त प्रतिकार गर्न तयार रहेको बताएका छन्।मुलुकभर निर्दोष कार्यकर्तालाई पक्राउ गर्ने, धरपकड गर्ने कार्य सरकारले गरिरहेकाले दमन गर्ने कार्यमा रोक नलगाए बमगोला पड्काउने तयार रहेको चेतावनी उनले दिए।