​होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Newslaya Home

​होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बुधबार ०६, चैत २०७५

इटहरी । रङहरुको पर्वको रुपमा मानिने होली पर्वमा विभिन्न रङ, अबिर र लोला खेलेर मनाइन्छ ।  

होलीमा खेल्ने रङ तीन प्रकारका हुन्छन्। एउटा पेस्टमा आउँछ, एउटा धूलो हुन्छ र एउटा पानीमा मिसाएर लगाउने हुन्छ। पेस्ट रङमा विभिन्न रसायन हुन्छ, जसले छालामा मात्र नभई आँखा र मिर्गौलामा समेत गम्भीर असर पार्छ।

धूलो रङमा मेटलहरु राखिएको हुन्छ। त्यो बाहेक काँचको टुक्रा, सिलिकन पनि मिसाइएको हुन्छ। यसले पनि छालाका साथै मिर्गौला र कलेजो तथा आँखामा असर गर्छ। यस्ता रङले लगाउनेबित्तिकै भन्दा पनि शरीरमा दीर्घकालीन असर पार्छ। रङमा मिसिएका रसायनका कारण दम बढ्ने, मिर्गौला फेल हुने र क्यान्सरसम्म हुने खतरा रहन्छ।

पानीमा मिसाएर लगाउने रङ पनि प्राकृतिक र कृत्रिम हुन्छन्। अहिले बजारमा आउने रङ अधिकांश कृत्रिम छन्। यस्ता रङ विषालु हुने भएकाले मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर गर्छन्। यी रङले छाला पोल्ने, चहर्‍याउने, चिलाउने र सुन्निने समस्या निम्त्याउँछ। यस्तै, कपाल सुख्खा हुने र झर्ने समस्या पनि हुन्छ। 

रातो रङमा ‘मर्करी सल्फाइड’ भन्ने रसायन हुन्छ। कालोमा ‘लिड अक्साइड’, हरियोमा ‘कपर सल्फाइड’ हुन्छ। यी रङले नरम छाला भएका बच्चा र गर्भवतीलाई बढी सताउँछ। गर्भवतीको छालाभित्र रङ पस्यो भने बच्चा तुहिने, कम तौलको बच्चा जन्मने पनि हुन सक्छ। त्यसैले सकेसम्म टल्कने र चम्कने खालका रङ प्रयोग गर्नुहुँदैन। 

होली खेल्नुअघि र खेलेपछि ध्यान दिनु पर्ने कुराहरुः

– अनुहारमा मोस्चराइजर तथा सन्स्क्रिन क्रिम लगाउने।

–लामो समयसम्म रङ शरीरमा नराख्ने।

–होली खेलिसकेपछि रङ निकाल्न छालामा बेस्सरी रगड्नु हुँदैन। त्यसैले रङ खेल्नुअघि नै शरीरमा तेल लगाएर जानु उपयुक्त हुन्छ। यसले गर्दा रसायनले छालामा असर गर्न पाउँदैन र रङ छिटो निकाल्न पनि सहयोग गर्छ।

–कपालमा धेरै तेल लगाउने र कपाल राम्ररी बाँध्नुपर्छ। 

– रङ पखाल्न साबुनको प्रयोग गर्नुपर्छ।

– छाला चिलाउन वा पोल्न थाल्यो र आँखामा रङ पस्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

– कतिपय केमिकलले नङ पाक्न पनि सक्छ। त्यसैले नेल पोलिस लगाउनुपर्छ।

– नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउनुपर्छ।