​‘हामी भाग्यमानी नेपाली’

Newslaya Home

​‘हामी भाग्यमानी नेपाली’

– पुरुषोत्तम पोखरेल
मङ्गलबार ०५, चैत २०७५

नेपाल भएर हामी नेपाली भएका हौं
देश भएरै हामी देशवासी भएका हौं,
हाम्रो देश नेपाल
सुन्दर मनोरम नेपाल
सबैको प्यारो नेपाल ।।

विश्वकै शीर यहॉ 
सगरमाथा भएर अग्लिरहेछ,
उत्कृष्ट पदमार्ग भएर अन्नपूर्ण
हिंडिरहेछ,
मंदिरहरुको शहर काठमाण्डौं
पूजनीय भईरहेछ,
फूलचोकीको फलाम खानी
कालीगण्डकीको सुनखानी
अन्य संभावित खानीहरु,
उत्खनन पर्खिरहेछ,
यस्तो अनमोल देशका 
त्यस्तै नेपाली हामी ।।

हामीकहॉ धेरै सेतोसुनको बहाव छ
नदीनाला भएर,
पशुपतिको गजूर छ
उच्च स्वाभिमान लिएर,
लोभलाग्दा संपदा छन्,
मनमोहक हिमाल छन्,
अग्लो, होचो, गहिरो, लामो
खोंच, नदी, हिमाल, ताल छन्
जस्को विश्वप्रसिद्द रेकर्ड छ,
यस्तो देशका हामी भाग्यमानी ।।

नजन्मिदैं भाग्यमानी हामी
हामी लोप हुन सक्छौं,
हामी पलायन हुन सक्छौं,
तर देश सधैं स्थिर हुन्छ,
अनि स्थिरै रहनु पर्छ ।।

कामना गरौं हामी सधैं,
परचक्रीहरुको क्रिडास्थल
नबनोस् यो कहिल्यै,
आततायीहरुको थलो पनि 
नहोस् यो कहिल्यै,
बुद्ध र भृकुटीहरुको जन्मस्थल यो
अमरसिंह र भक्ती थापाले पाइला टेकेको
सुन्दर र सफल भूमि हो यो,
यसरी हामी जन्मजात् भाग्यमानी
नेपालीहरु ।।