​महिला साफको इतिहासमै कुनै खेल नहारेको भारतबाट श्रीलंका पराजित

Newslaya Home

​महिला साफको इतिहासमै कुनै खेल नहारेको भारतबाट श्रीलंका पराजित

आइतबार ०३, चैत २०७५

मोरङ । भारतले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गरेको छ । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंका ठूलो अन्तरले पराजित भएको हो ।

भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन् । यस्तै इन्दुमाथि काथिरेसनले खेलको ३६औ मिनेटमा गोल गर्दै भारतलाई तेस्रो गोल दिलाएकी थिइन्।
 
संगीता बासफोरेले भारतलाई चौथो गोल दिलाइन् भने रतनवाला देवी नुइबाथेमले पाँचौ गोल गर्न सफल भइन् ।

साफको पाँचौ संस्करणसम्म आइपुग्दा भारतले कुल २० खेल खेलेको छ । जसमा १९ मा जित र एक मा बराबरी गरेको छ । यसअवधिमा १ सय २० गोल गरेको छ भने ५ गोल खाएको इतिहास छ ।

फिफा वरियतामा ६२ औं स्थानमा रहेको भारतले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ६ शून्यको फराकिलो अन्तरले पराजित गरेको थियो । 
यसपटकको साफमा श्रीलंकाले यो पाँच सहित २२ गोल खाएको छ भने एक गोल पनि गर्न सकेन ।

जितसंगै समूह विजेता बनेको भारतले अब सेमिफाइनलमा समूह ए को उपविजेता बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । समूह ए को विजेता आयोजक नेपालले श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । सेमिफाइनलका दुबै खेल आगामी बुधबार हुनेछन् ।