​वैशाखदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने

Newslaya Home

​वैशाखदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने

बिहीबार ३०, फागुन २०७५

धनुषा । वैशाखदेखि ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालनमा ल्याउने तयारी थालिएको छ । रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको रेल विभागले जनाएको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । 

सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको बताए ।

उनले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए । विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए ।