​पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली

Newslaya Home

​पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली

बिहीबार ३०, फागुन २०७५

काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली भइ पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

यसको प्रभाव बिहीबार रातिसम्म कायम रहने उनले बताए । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।