फेसबुकले ल्यायो नयाँ फिचर, यस्तो छ विशेषता

Newslaya Home

फेसबुकले ल्यायो नयाँ फिचर, यस्तो छ विशेषता

बिहीबार १६, फागुन २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याएको छ । Clear History नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।

फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी दिएका हुन् । सन् २०१९ को अन्तसम्ममा उक्त फिचर सबै प्रयोगकर्ताका लागि जारी गरिने उनले बताए ।

फेसबुकले उसको विज्ञापन तथा एनालिटिक्स टूल्सको प्रयोग गर्ने साइट तथा एपहरुमार्फत प्रयोगकर्ताका डाटा एकत्रित गर्दछ । अब यो फिचर थप भएसँगै प्रयोगकर्ताले फेसबुकको डाटा स्टोरबाट आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिनेछ । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत मे महिनामा यस्तो खालको फिचर ल्याउने खुलासा गरेका थिए । जुकरबर्गको खुलासासँगै फेसबुक प्रयोगकर्ताले सो फिचरको प्रतिक्षा गरिरहेका छन् ।

यो फिचरको मद्दतले फेसबुक प्रयोगकर्ताले थर्ड पार्टी एप्स तथा वेबसाइटको प्रयोग गरी संकलित आफ्ना निजी डाटाहरु डिलिट गर्न सक्नेछन् । क्लिएर हिस्ट्री नामको उक्त नयाँ फिचर कुनै वेब ब्राउजरको अप्सन जस्तै हुनेछ जसमा प्रयोगकर्ताले आफ्नो ब्राउजिङ हिस्ट्री वा कूकीज डिलिट गर्न सक्दछन् । 

फेसबुकको यो फिचर आएसँगै प्रयोगकर्ताले आफुले फेसबुक मार्फत लगअन गरेको वेबसाइट तथा एप्सका बारेमा पनि थाहा पाउनेछन् र आफ्नो आफ्नो अकाउन्टबाट ती जानकारी पनि हटाउन सक्नेछन् ।