​रियल म्याड्रिडलाई उसैको मैदानमा निरीह बनाउँदै बार्सिलोना फाइनलमा

Newslaya Home

​रियल म्याड्रिडलाई उसैको मैदानमा निरीह बनाउँदै बार्सिलोना फाइनलमा

बिहीबार १६, फागुन २०७५

काठमाडौं ।  रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार बिहान भएको सेमिफाइनलको दोस्रो लेग खेलमा बार्सिलोनाले उसैको मैदानमा निरीह बनाउँदै रियल म्याड्रिडलाई ३—० गोलले हराएको हो।

उक्त नतिजासँगै बार्सिलोना ४—१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको छ। यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोना लगातार छैटौं पटक कोपा डेर रेको फाइनलमा पुगेको हो।

बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउन उरुग्वेका अनुभवी खेलाडी लुइस स्वारेजले दुई गोलको योगदान गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५० औं मिनेटमा स्वारेजले ओसमेन डेम्बेलको पासमा टोलीका लागि पहिलो गोल गरेका थिए।

यसैगरी ६९ औं मिनेटमा रियलका राफेल भारानेबाट आत्मघाति गोल भएपछि बार्सिलोना २—० ले अगाडि बढेको थियो। ७३ औं मिनेटमा स्वारेजले नै पेनाल्टीमार्फत अर्को गोल गर्दै बार्सिलोनालाई सजिलै फाइनलमा पुर्याएका थिए ।

खेलका क्रममा रियलका खेलाडीले बार्सिलोनाको पोष्टमा १४ वटा सशक्त प्रहार गरे पनि टोलीलाई लज्जास्पद हारबाट भने जोगाउन सकेनन्। 

कोपा डेल रेको फाइनल भने आगामी मे २५ तारिखमा खेलिने छ। फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया वा रियल बेटिसको सामना गर्नेछ।