​आज मकैको बिहे

Newslaya Home

​आज मकैको बिहे

मङ्गलबार १४, फागुन २०७५

काठमाडौ । पानी नपर्दा भ्यागुताको बिहे हुन्छ, नेवार समुदायमा बेलको बिहे गरिन्छ । 
तर नेपालमै मकैको समेत बिहे हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । फागुन कृष्ण अष्टमीको दिन  लाप्राकवासीहरूले मकैको बिहे गरिदिन्छन् ।

मकै लाप्राकमा उत्पादन हुने मुख्य बाली हो । मकै रोप्ने अहिलेको समयमा मकै छर्नुअघि बीउ चोख्याउन बिहे गर्ने गरिन्छ । गुरुङ बहुल लाप्राक गाउँको यस्तो चलन निकै अघिदेखि चलेको हो । 

गाउँका जैसी (पुरोहित) तथा झाँक्रीहरूले बिहेको साइत जुराउँछन । सोमबार साँझदेखि मंगलबार बिहानसम्म गाउँलेहरू चोखो खाएर मकैको बिहे गर्न बस्छन् । 

गाउँ परिक्रमा गर्छन्, बेहुला (बालक केटो)लाई अघि लगाएर बाजागाजा बजाउँदै गाउँदेखि केही पर बेहुलीको घर जन्त जान्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एकेक घोगा मकै एकै ठाउँ थुप्राइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ ।

मंगलबार साँझपख बेहुलीको घरबाट आफ्नो घरतिर फर्कन्छन् । फर्कंदा बेहुली लाँदैनन् बरु एकेक मुठी मकैको बीउ घरमा लिएर जान्छन् र त्यो बीउ मकैमा मिसाउँछन् ।

साँझपख घाटु नाच्ने र एकैठाउँ भेला भएर भोजभतेर खाने चलन छ ।