​प्रदेश ३ का २० वटा विद्यालयमा नर्सको व्यवस्था

Newslaya Home

​प्रदेश ३ का २० वटा विद्यालयमा नर्सको व्यवस्था

आइतबार १२, फागुन २०७५

काठमाडौं । प्रदेश नं. ३ का २० वटा विद्यालयमा नर्सको व्यवस्था गरिएको छ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको हो।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो। 

बालबालिका आफ्नो घरभन्दा बढी समय विद्यालयमा रहने भएकोले उनीहरूलाई स्वास्थ्य समस्या पर्दा  उपचारको समस्या भएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो।

विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिनेछन्। 

यस्तै, व्यक्तिगत–वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरूको जिम्मेवारी हुन्छ। स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनुपरे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ।