​​आधिकारीक बिक्रेता छल्दै पुर्वमा भारतीय लेज र कुर्कुरे छ्याप्छयाप्ती, ८० प्रतिशत बजार अनाधिकृत बिक्रेताको कब्जामा

Newslaya Home

​​आधिकारीक बिक्रेता छल्दै पुर्वमा भारतीय लेज र कुर्कुरे छ्याप्छयाप्ती, ८० प्रतिशत बजार अनाधिकृत बिक्रेताको कब्जामा

शनिबार ११, फागुन २०७५

इटहरी । अवैध आयातका कारण पूर्वी नेपालमा भइरहेको नेपाली लेज तथा कुर्कुरेको कारोबारमा ८० प्रतिशतले गिरावट आएको बिक्रेताहरुले गुनासो गरेका छन् । 

नेपालका लागि आधिकारिक बिक्रेता सिम्रिक डिस्टिब्युटर्सले पूर्वी नेपालमा आफ्नो ८० प्रतिशत बजार खोसिएको गुनासो गरेको छ । 

नेपालमा लेज तथा कुर्कुरे आयातको अधिकार सिम्रिक डिस्टीब्युटर्सलाई मात्र भएकाले अरुले आयात गरी बिक्री गर्नु अवैध हो । तर, नाफा कमाउने लोभमा केही समूहले लुकेर यस्तो काम गरिरहेको सिम्रिक कम्पनीले जनाएको छ ।

अवैध रूपमा र अनुमति लिएर आयात गरिएको लेजको प्याकेट फरक हुन्छ । सिम्रिकले ल्याउने लेजको प्याकेटमा नेपालका लागि मात्र भनेर लेखिएको हुन्छ भने नेपाली मूल्य ४५ रुपैयाँ उल्लेख हुन्छ । तर भारतीय लेजको प्याकेटमा भारतीय रुपैयाँ २० भनेर प्रिन्ट गरिएको हुन्छ। त्यसमा नेपालका लागि मात्र भनेर लेखिएको हुँदैन ।

इटहरीका अधिकांश होलसेल पसलमा भारतीय लेज बिक्री हुन थालेको छ। नेपाली लेज बिक्री गर्नेले पनि भारतीय लेज अर्डर गर्न थालेका छन् ।

अनधिकृत बिक्रीवितरण रोक्न कम्पनीले सम्बन्धित विभाग र राजस्व कार्यालयको ढोका ढक्ढकाउन थालेको छ।

सिम्रिक डिस्टिब्युटर्सका जेनेरल मेनेजर आनन्दबहादुर शाहले आफ्नो पहिलेको बिक्रिमा ८० प्रतिशतसम्म गिरावट आएको बताएका छन् । 

उनले भन्सार तिरेर भारतीय लेज भित्रनै नसक्ने ठोकुवा गर्दै कालाबजारी भइरहेको बताए । उनले यस विषयमा राजस्व अनुसन्धान कार्यालय तथा उद्योग विभागमा जानकारी दिएको बताउँदै भन्सारलाई यो विषयमा पत्राचार गर्ने काम भइरहेको समेत जानकारी दिए ।