​पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि भारतमा हुनलागेको सुटिङको विश्वकप रोकियो

Newslaya Home

​पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि भारतमा हुनलागेको सुटिङको विश्वकप रोकियो

शुक्रबार १०, फागुन २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतमा हुन लागेको सुटिङको विश्वकप रोक्न निर्देशन दिएको छ । भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएको भन्दै आईओसी यस्तो निर्देशन दिएको हो । 

आईओसीले भारतीय सरकारले लिखित रुपमा भिसा दिने विषयमा आश्वासन नदिँदासम्म भारतमा हुने कुनै पनि ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताहरु आयोजना गर्न पनि रोक लगाएको छ । स्विट्जरल्याण्डमा बसेको ओलम्पिक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । 

भारतमा हुन लागेको सुटिङमा पाकिस्तानका दुई जना खेलाडी सहभागी हुने तय भएको थियो । जीएम बशीर र खलील अहमद २५ मिटर र्‍यापिड फायर इभेन्टमा भाग लिनका लागि आउन खोज्दा पाकिस्तानी खेलाडी भएकै कारण भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

भारतीय कदमविरुद्ध नेशनल राइफल एसोसिएशन अफ पाकिस्तानले आईओसीमा उजुरी गरेको थियो । जम्मू–कश्मीरको पुलवामामा भएको आक्रमणएपछि आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै आएको छ ।

आईओसीले आयोजक देशमा आउने कुनै पनि खेलाडीलाई राजनीतिक हस्तक्षेपबिना निष्पक्ष र समान व्यवहारका साथ प्रतियोगितामा सहभागी हुन मौका दिनुपर्ने बताएको छ ।