​भूकम्पीय दृष्टिले इटहरीलाई सुरक्षित बनाउन अभिमुखिकरण तालिम

Newslaya Home

​भूकम्पीय दृष्टिले इटहरीलाई सुरक्षित बनाउन अभिमुखिकरण तालिम

बुधबार ०८, फागुन २०७५

इटहरी । इटहरी उपमहानगरपालिकाले भवन संहितालाई प्रभावकारी बनाउनको लागि घरधनी अभिमुखिकरणलाई तीव्र बनाएको छ । 

भूकम्पीय दृष्टिले पनि इटहरीलाई सुरक्षित नगर बनाउनको लागि नगरपालिकाले भवन संहितालाई प्रभावकारी ढंगले कार्यावन्यन गर्न घरधनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । 

माघ २ गते देखि सुरु भएको यो अभियानमा हालसम्म करिब दुईसय घरधनीलाई अभिमुखिकरण तालिम दिइसकिएको इटहरी उपमहानगर घरनक्सा शाखा प्रमुख विकास भटटराईले जानकारी दिए । 

यसैक्रममा आज पनि नयाँ घर बनाउन लागेका ४४ जनालाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । यो अभिमुखिकरण तालिममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटले प्राविधिक सहयोग समेत गरेको छ । 

भूकम्प सम्वन्धि आधारभूत जानकारी,घर दह्रो बनाउने दशबुँदा,निर्माण समाग्रीको गुणस्तर,निर्माण प्रविधि गुणस्तर,नक्सापास मापदण्ड लगायतका विषयमा जानकारी गराइएको एनसेटका इन्जिनियर हेमन्त गाँईले जानकारी दिए ।  

सहभागिहरुलाई इन्जिनियर विकास भटटराई,हेमन्त गाँई,इन्दु घिमिरे,राम खडका लगायतले सहजिकरण गरे । नक्सापासमा आएका घरधनीलाई अभिमुखिकरण गराएर मात्र पहिलो चरणको इजाजत दिन थालिएको छ । घरधनीहरुले अभिमुखिकरण कार्यक्रम उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन ।