​उपविजेता फुटबल खेलाडिलाई प्रोत्साहन पुरस्कार

Newslaya Home

​उपविजेता फुटबल खेलाडिलाई प्रोत्साहन पुरस्कार

बुधबार ०८, फागुन २०७५

धरान । १२ वर्ष पछि बुढासुब्बा गोल्डकपको उपविजेता बनेको धरान फुटबल क्लबका खेलाडिहरुलाई धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकाश समितीले नगद सहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 

मोफसलकै उत्कृष्ठ ठहरिएको बुढासुब्बा गोल्डकप धरान फुटबल क्लबले २१ वर्ष देखि आयोजना गर्दै आएको छ । घरेलु मैदाननै भए पनि विगत १२ वर्ष देखि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । यस वर्षको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपमा पुरानो ईतिहास फर्काउदै धरानलाई उपविजेता बनाउन सफल भएकाले खेलाडिहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । 

धरान नगर खेलकुद विकास समितिको आयोजित एक कार्यक्रममा खेलकुद विकाश समितीबाट १ लाख ५० हजार रुपैया र आयोजक धरान फुटबल क्लबले थप २ लाख रुपैया गरि ३ लाख ५० हजार रुपैया खेलाडिहरुलाई प्रदान गरिएको छ । प्रशिक्षक सागर घिमिरे सहित २० जना खेलाडीलाई नगद रकम प्रदान गरिएको थियो । 

नगद पुरस्कार धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुबेदी र एन्फाका मानार्थ उपाध्यक्ष एबंम क्लवका अध्यक्ष किशोर राईले संयुक्त रुपमा प्रदान गरेका थिए । २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा धरान फुटबल क्लब डाफिन्स क्लब क्यामरुन संग ट्राईब्रेकरमा पराजित भएको थियो । 

कार्यक्रममै पोखरामा जारी आहा गोल्डकपमा सहभागि हुन जान लागेको टिमका खेलाडिहरुलाई बिदाई पनि गरिएको छ ।