पुष्प मेलामा दुई दिनमा १२ लाख रुपैयाको फुलको कारोबार

Newslaya Home

पुष्प मेलामा दुई दिनमा १२ लाख रुपैयाको फुलको कारोबार

बुधबार ०८, फागुन २०७५

धरान । घर आँगन होस वा सडक किनारा, रोपि स्वदेशी फुल विरुवा बनाउँ हराभरा भन्ने नारा सहित धरान १२ स्थित अमान बजारमा मंगलबार देखि शुरु भएको पुष्प व्यापार मेलामा दुई दिनमा करिब १२ लाख रुपैयाको कारोबार भएको छ । 

पुष्प व्यवसाय तथा फुल खेतीको प्रवद्र्धनका लागि नेपाल फ्लोरिकल्चर एसोसियसन सुनसरीले आयोजना प्रदेश नम्बर १ स्तरिय तेस्रो पुष्प व्यापार मेलामा पहिलो दिन ५ लाख रुपैया र दोस्रो दिन ७ लाख रुपैयाको कारोबार भएको एसोसियसनका सदस्य तथा मेला संयोजक प्रेम प्रसाद पराजुलीले बताए । उनका अनुसार ५ सय रुपैया देखि १५ सय रुपैया सम्मका फुलहरुको व्यापार भएको हो ।

एकै जनाले ८० हजार रुपैया सम्मका फुलहरु खरिद गरेको उनले बताए । उनले भने, ‘होटल, अफिस सजाउन आलाङकारिक फुलहरुको बिक्रि भएको छ भने घर सजाउनका लागि मौसमी फुलले बजार पाएको छ ।’ 

आलाङकारिक फुलको बिक्रि भन्दा पनि मौसमी फुलहरु खरिद गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाई छ । पुष्प मेलामा भारतको दार्जिलिङबाट आएको धुपीको भेराईटी, एजेलिया, एडेनियम, क्याक्टस प्रजातिका फुलहरुको बिक्रि भएको उनले बताए ।

फुलको प्रदर्शनी तथा मेलाले फुल प्रतिको मोह बढ्दै गएकाले व्यापार पनि फस्टाउदै गएको महादेव नर्सरी दमकका व्यवसायी टेक बहादुर राईले बताए । उनले भने, ‘मेलाले मेरो नर्सरीको प्रचार प्रसार गर्ने मौका पाएको छ, नर्सरीमा देखेका फुलहरु खरिद गर्न धरानकाहरु दमक सम्म पुग्ने गरेका छन् ।’  
झापा, मोरङ, सुनसरी, ईलामका पुष्प व्यवसायीहरुले ३२ स्टलबाट फुलको बिक्रि वितरण गरेका छन् ।

ती स्टलहरुमा मौसमी, आलंकरिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट, फुलको गानो, बिउविजन, कृषि औजार, उपकरण लगायतको प्रर्दशनी तथा बिक्री कक्ष रहेको छ । पुष्प मेलामा फूल र फलफुल गरी ४ सय भन्दा बढी विभिन्न प्रजातिको विरुवाहरु राखिएका छन् । 

मेलामा दमक, विराटनगर, ईलाम सम्मका फुल खरिदकर्ताहरु आएका छन् भने धरानका विद्यालयहरुबाट सयौंको संख्यामा विद्यार्थीहरुले पुष्प मेलाको अध्ययन तथा अवलोकन गरेका छन् । फागुन १२ गते सम्म चल्ने पुष्प मेलामा ३५ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने ५० लाख बढीको कारोबार हुने अनुमान छ ।