​‘अध्ययन र अवलोकन गर्ने थलो पुष्प मेला’

Newslaya Home

​‘अध्ययन र अवलोकन गर्ने थलो पुष्प मेला’

सोमबार ०६, फागुन २०७५

पुष्प व्यवशायको प्रवद्र्धनका लागि फागुन ७ गतेदेखि तेस्रो पुष्प मेला धरानमा लाग्दैछ । ५ दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । फूलको बजार बिस्तार गर्ने तथा लगानीलाई सुनिश्चित गर्दै फूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले २०७३ साल देखि धरानमा पुष्प मेलाको आयोजना हुँदै आएको छ । 

धरान १२ स्थित अमान बजारमा प्रदेश नम्बर १ स्तरिय पुष्प व्यापार मेलाको सोमबार प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गर्दैछन् । सोही मेलाको विषयमा फ्लोरीकल्चर एसोसियसनका सुनसरी जिल्ला सदस्य तथा मेला संयोजक प्रेम प्रसाद पराजुलीसंग गरिएको कुराकानी :

अघिल्लो वर्षहरुको तुलनामा यस पटकको पुष्प मेलामा फरक के छ ?
त्यस्तो खासै केही छैन, पहिलाको जस्तै हो । व्यावसायीहरु भने केही नयाँ पनि थपिएका छन् । प्रचार झनै पहिला भन्दा धेरै भएको छ । सहभागी(व्यवसायी) पनि बढ्दैछन् । स्टल–स्टलहरुबीच प्रतिस्पर्धा र बिक्रीका लागि नभएर प्रदर्शनमा ल्याएको उत्कृष्ट विरुवा अथवा फूल घोषित गर्दै पहिलो, दोस्रो र तेस्रो स्टल घोषित गरी पुरस्कृत गर्ने त छँदैछ । यसपटक धरानको सबै वार्डमा गएर व्यक्तिको घर–घरमा पुगेर बगैचा, फूलको सजावट आदिको आधारमा उत्कृष्ट घर, उत्कृष्ट टोल र उत्कृष्ट वार्ड पहिलो, दोस्रो र तेस्रो घोषित गर्दै सम्मान पनि गदैछौं । त्यसको लागि तीन जना विज्ञ टोलीसहित फ्लोकिल्चर एसोसिएसनका प्रतिनिधि पनि गएर हेरिसकेका छन् । यो चाहिँ वास्तवमा नगरपालिकाको काम हो, हामीले गर्दैछौं ।

मानिसहरु अमान बजारको पुष्प मेला नै किन आउने त ?
अहिलेको समय भनेको विज्ञानको युग हो, नयाँ–नयाँ प्रजातीका वनस्पति, फूलहरु स्टलमा प्रदर्शनमा राखिन्छ । सबै ठाउँका पुष्प व्यवसायीहरुले उत्पादन गरेका विभिन्न प्रजातिका फूलहरु एकै ठाउँ देख्न र खरीद गर्न पाइन्छ । धेरै ज्ञानका कुराहरु सिकिन्छ, त्यो पनि ठुलो कुरा हो । यस पटकको मेलामा ४ सय प्रजातिभन्दा बढीको बोटविरुवा, फूल फुल्नेदेखि लिएर मौसमी फूलहरु, आलङ्कारीक बोट विरुवा, रुख, फलफूलको विरुवा अवलोकन मात्र होइन, किन्न र देख्न पनि पाइन्छ ।

मेलामा कत्ति स्टलहरु छन् ? फूलको न्यूनतम–अधिकतम मुल्य कतीसम्म छ ?
जम्मा ३२ वटा व्यवसायिक स्टलहरु छन् । फूलको मुल्यको कुरा गर्नुपर्दा चै कम मुल्यमा २५–३० रुपैयाँदेखि माथिको ५० हजार रुपैयाँसम्मका आलङकारीक विरुवा पाइन्छन् । ५० हजार रुपैयाँको चै आलाङ्कारीक विरुवा धेरै वर्षको विरुवा हुन्छन् । बोनसाइ प्रजातिको विरुवा हुन्छन् । २५–३० रुपैयाँको पनि ढकमक्क फुलेको फूल किन्न पाइन्छ ।

मेलामा कहाँ–कहाँबाट पुष्प व्यावसायीहरु सहभागी हुदैछन् ?
व्यावसायी त नेपालका काठमाडौ, रुपन्दही पश्चिमबाट पनि आउदै हुनुहन्छ । तर, व्यापारसहित झापा, मोरङ, भोजपुर पूर्वमा इलामसम्मको व्यापारीहरु आउने बचन दिनुभएको छ । अनि, सुनसरी, उदयपुर, धनकुटासम्मका व्यापारीहरु आउदै हुनुहन्छ ।

मेला आयोजनामा मुख्य चुनौती के छ ?
चुनौती त भइहाल्छ नि ! यस्तो मेलाको आयोजनामा मुख्य चुनौती आर्थिकको नै हुन्छ । हामी कृषि सम्बन्धिको भएकोले अरुतिर आर्थिक संकलन गर्न जादैनौं । जान पनि हुदैन । पैसा भेटियो भनेर लिन पनि मिलेन । फेरी निःशुल्क रुपमा प्रदर्शन गछौं । पैसा बढी खर्च हुने, आम्दानी कम हुन्छ । त्यसैले हामी आफैले उठाएका छौं । प्रत्येक स्टलबाट मेला अवधिभरका लागि ५ हजार रुपैयाँ उठाएका छौं । त्यसबाट करिब १ लाख ३० हजार रुपैयाँसम्म उठ्छ । बाँकी अरुबाट नै हो । कार्यक्रमका लागि साढे ५ लाख देखि ६ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेका छौं ।

मुख्य चुनौतीको रुपमा आर्थिकको कुरा उठाउनु भयो, स्थानीय सरकारले कस्तो सहयोग गरेको छ नी ?
खै, अब हाम्रो कमजोरी हो की ? के भयो, विशेष गरेर पुष्प भनेको पर्यटन सम्बन्धी, वातावरण, सुन्दरतासँग जोडिएको हुनाले स्थानीय सरकारले पनि चासो दिनुपर्ने हो । तर हामीले सोच जस्तो सहयोग चै भएन नै भन्नु पर्यो । तर, सहयोग नै भएन भन्ने चै होइन, सहयोग भएको छ । तर, नगरपालिकाले आफ् कार्यक्रम हो भनेर अझ सोचिदिनुपर्यो । पोहोर सालदेखि नै त्यति सहयोग पाउन सकेका छैनौ । केन्द्रबाटै शिर्षक दिएर पठाएको हुन्छ भन्नु हुन्छ, शिर्षकमा राखेर बजेट छुट्याउन सकिदैन भन्नु हुन्छ ।

स्वर्गीय मेयर तारा सुब्बा ज्यूले त धरानलाई फुलको सहर बनाउने भनेर राम्रै सहयोग भएको थियो । उहाँले खास यो हामीले गर्नुपर्ने कार्यक्रम हो तपाईहरुले आयोजना गरिरहनुभएको छ । अर्को पटक हामी पनि सहभागी हुन्छौ, भन्नु हुन्थ्यो । उहाँ बितिहाल्नु भयो । नभएत धेरै राम्रो हुन्थ्यो होला । तर, पनि आउदा दिनमा नगरपालिकाले अलिक धेरै चासो दिन्छ होला भनेर आशावादी छौं ।

धरान उपमहानगरपालिकाले धरानलाई फुलको शहर बनाउने भनेर बताउँदै आएको छ, तपाईहरुलाई यो कुराले कतिको उत्साहित गरेको छ ?
धेरै राम्रो कुरा हो, धरानमा पहिला नै लाहुरे दाजुभाइहरुले यसको आधार बनाइसक्नु भएको छ । घर, आँगनमा फुलहरु, बगैचा छ । उहाँहरुले बेलायत अथवा विदेशमा बस्दा देखेर आफ्नो घरमा बगैचा बनाउनुभएको छ । त्यसको लागि त म फ्लोरिकल्चर एसोसिएसनको तर्फबाट धेरै–धेरै धन्यवाद पनि दिन चाहन्छु । यसको श्रेय उहाँहरुलाई नै जान्छ । अनि, धरान उपमहानगरपालिकाका स्वः मेयर तारा सुब्बाले घोषणा नै गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि र भानुचोकदेखि छाताचोकसम्म गमला राख्ने काम भइरहेको छ । किनकी पर्यटकीय क्षेत्र बनाउनको लागि विना फुलको सम्भव छैन । त्यसैले फूल व्यवसायमा लाग्नको लागि युवाहरुले चासो दिनुपर्यो । राज्यले पनि विशेष चासो दिनुपर्यो ।

मेलामा कारोबार कति हुने अपेक्षा गर्नुभएको छ ? अनि सहभागी चै कति हुने लक्ष्य लिनुभएको छ ?
अघिल्लो वर्ष ४५ लाखको कारोबार हुने लक्ष्य लिएकोमा ६० लाखबढीको कारोबार भएको थियो । राम्रै भएको थियो । यसपटक ५० लाखको कारोबार हुने लक्ष्य राखेका छौं । ७० देखि ७५ लाखबढीको कारोबार हुनुपर्ने हो ।
अवलोकन गर्न आउनेको लागि विशेष ध्यान दिएका छौं । वातावरण सम्बन्धि पर्ने भएकाले पनि यसपटक हामीले धरानका विद्यालयहरुमा खबर गरेका छौ । चिठी पठाएका छौं, फोन सम्पर्क गछौं । भोलीका दिनमा आफ्नो देश तथा ठाउँ सिगार्ने भनेको त विद्यार्थी वर्गनै हो । उनीहरुले किताबमा फूलको बारेमा पढेका हुन्छन् । उनीहरुले पुष्प मेलाको अवलोकन गरेर आफ्नो घरमा भन्छ । जसको घरमा रोपेको छ भइगो नरोपेको घरमा फुल रोप्नुपर्छ भन्छ नि त हैन ? विद्यार्थीको लागि किन्नु पदैन, अवलोकन गर्छ धेरै कुरा सिक्ने मौका पनि पाउँछ ।

तपाईहरुले स्थानीय स्तरमा उत्पादन गरिएको फुलको प्रबद्र्धनन गर्नको लागि मेला आयोजना गर्नुभएको हो तर, यसभन्दा अगाडीको मेलामा भारतीय फूल प्रदर्शनीमा राख्नु भएको थियो, निकै आलोचना पनि खेप्नु पर्यो हैन ?
हो, तपाईको कुरा सही हो । बाहिरको फूल भित्रियो भन्ने कुरा दुई मत छैन, त्यो हाम्रो बाध्यता हो । मागअनुसार नपुगेकोले ल्याउनुपर्ने नै हुन्छ । मौसमी फूलमा करिब ८० प्रतिशत आत्मनिर्भर छौं । तर, आलङ्कारीक बोटविरुवामा चै ७० देखि ८० प्रतिशत बाहिरबाट ल्याउनुपर्छ । हामी अझै आत्मनिर्भर हुन सकेका छैनौं, दुःख लाग्छ । त्यसको लागि नयाँ व्यवसायीहरु आएर यसको व्यवसाय गरेर अलिक टेवा पुग्थ्यो । फूलले वातावरणलाई स्वच्छ बनाउँछ । त्यति मात्र हैन, रोजगारी पनि दिन्छ । धरानमा एक नर्सरीले २६–२७ जनालाई रोजगारी दिएको छ । फेरी आलाङ्कारीक बोट विरुवाहरु बिकेन भनेर चिन्ता लिनुपर्दैन । त्यो बुढो कहिले हुँदैन । पछि पनि विक्न सक्छ ।

यसभन्दा अघि पहिलो र दोस्रो संस्करण आयोजना गरिसक्नु भएको छ, त्यसले के फाइदा पु¥यायो जस्तो लाग्छ ?
धेरै फाइदा पु¥यायो नि ? धरानमा ७–८ जना नयाँ पुष्प व्यवसायी थपिए । त्यो मेलाको नै देन हो । अनि अर्काको फुल चुँडेर पुजा गर्नेहरुको लागि आफै रोप्दा राम्रो हुदो रै’छ, सस्तो पनि हुदो रै’छ भनेर रोप्न थाले । टाढा–टाढाबाट आएको व्यवसायीहरु बीच एक अर्कामा आफुले जानेको कुरा सिकाइ आदानप्रदान हुने नै भयो, त्यसले पनि नयाँ आइडियाहरु दिन्छ फूलखेती गर्नको लागि धेरै फाइदा हुदैछ ।

अन्त्यमा नयाँ पुष्प व्यावसायमा आउन चाहनेहरुको लागि के भन्न चाहनुहुन्छ ?
पुष्प व्यवशाय भनेको किसानको मात्र भन्ने नसोचौँँ, सबै पढेलेखेकोले पनि गर्न मिल्ने पेशा हो । त्यसैले, अहिले सञ्चारको युग छ, इन्टरनेटहरुमा हेरेर यो पेशमा लाग्न सकिन्छ । प्रकृतिसँग मिल्ने अनि पर्यटनसम्बन्धी काम मात्र नभएर स्वरोजगारको कार्यक्रम भएकोले पनि फूलको संसारभरी माग कति छ, आफ्नो देशको कति माग कति छ, त्यो अध्ययन गरेर यो पेशामा आउनु भयो भने हामीले आफ्नो देशको पैसा बाहिर लगेर बुझाउनु पदैन । हामीले यहाँ उत्पादन गरेको फुलहरुको अन्तर्राष्ट्रिय बजार यूरोप, अमेरिकातिर माग भएको हुनाले उता निकासी गर्न पनि सकिन्छ । सरकारको पनि योजना भएकोले ठुला उद्योगीहरु पनि लगानी गर्न आइदिन अनुरोध गर्दछु ।