जोन पलको त्यो सपना र अहिलेको साँस्कृतिक भवन

Newslaya Home

जोन पलको त्यो सपना र अहिलेको साँस्कृतिक भवन

- ज्ञानेन्द्र दाहाल
आइतबार ०५, फागुन २०७५

हुन त, इटहरीमा २०२० सालदेखि नै पुस्तकालयको सुरुवात भएको हामीले सुनेका थियौं । पछिल्लो समय, इटहरीको राष्ट्रिय जागृति क्लबले पनि निकै बर्ष पुस्तकालय सञ्चालन गरेको थियो, तर त्यसले निरन्तरता पाएन ।

यो लेख नगरपालिका परिसरमा रहेको साँस्कृतिक केन्द्र भवन र त्यसभित्र रहेको पब्लिक लाइब्रेरी सम्बन्धमा हो । २०४९ सालमा इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालले आफ्नै निवासमा स्थानिय ब्यक्तिहरुका निम्ति सार्वजनिक पुस्तकालय संचालन गर्न फर्निचर तयार गर्दै थिए ।

यसैबिच एस.ओ.एस. बालग्राम, इटहरीमा तत्कालिन राजा क्लब अध्यक्ष रामकुमार सुबेदीसँग लक्जमबर्गवासी जोन पल एवर्फिल्ड भेट भए । राजा क्लब अध्यक्षसँग जोन पलले नेपाली संस्कृतिबारे जान्न चाहँदा, राम्ररी बताउन सक्छन् भन्ने ध्येय राखी इटहरी साहित्यिक समूहका अध्यक्षसँग भेट गराए ।

साहित्यिक समूहका अध्यक्षले आफ्नै नीजि खर्चमा र आफ्नै निवासमा पुस्तकालय खोल्न लागेको देखी जोन पल अत्यन्त प्रभावित भए र सोधे, ‘यस पुस्तकालयमा २०–३० पुस्तक म आफ्नोतर्फबाट थप्न सक्छु ?’

पुस्तकालयलाई सहयोग गर्ने मनसाय राखेकाले जोन पोललाई एउटा अलग्गै पुस्तकालय स्थापना गर्नका लागि सहयोग गरिदिन साहित्यिक समूहका अध्यक्षले अनुरोध गरे । त्यसमा जोन पलले बचनबद्धता जनाए । तत्कालै एउटा बृहत योजना बन्यो । एउटा ब्यवस्थित पुस्तकालय स्थापना गर्न टेंग्राखोला नजिक कुमार जोशीको घरको भुइतलाको दुई कोठा भाडामा लिइयो ।

एक हप्तामै सम्पुर्ण सामाग्री जुट्यो । फर्निचर, पुस्तक र कर्मचारीको समेत सम्पूर्ण खर्च जोन पलले ब्यहोरे । ‘पब्लिक लाइब्रेरी’ नाम दिएर स्कुल र कलेजस्तरका विद्यार्थी तथा युवाहरुलाई आकर्षित गर्ने उद्देश्य राखी खेलकुदका सामाग्रीसहित एउटा पुस्तकालय सुरु भयो ।

पुस्तकालयको स्थापनापछि जोन पल अझै उत्साहित भए । उनले इटहरी क्षेत्रमा निशुल्क ब्यवसायिक तालिम सन्चालन गर्न सहयोग गर्ने इच्छा राखे । साहित्यिक समूहका अध्यक्षले जिम्मेवारी बढेकाले सेकेण्डरी बोर्डिङ् स्कुल इटहरीका तत्कालिन प्रिन्सिपल तेज कुमार अटललाई साथ लिए ।

तेजकुमार अटलले सोहि स्कुलका शिक्षक मार्क प्रकाश लेप्चालाई ब्यवसायिक तालिमको कोअर्डिनेटर बनाए । यसरी एक बर्षसम्म बिद्युत जडान, सिलाई कटाई, पेण्टिङ् इत्यादीको निशुल्क ब्यवसायिक तालिम इटहरीका बिभिन्न ठाऊँमा सञ्चालित भयो । तर त्यस अवधिमा जोन पल र साहित्यिक समूहका अध्यक्षबिच दुरी बढिसकेको थियो । किनकि तेजकुमार अटलले जोन पलसँग सम्बन्ध बढाएर इसास अध्यक्षलाई ओझेलमा पारेका थिए । 

जोन पल नेपाल आउँदा तेज कुमार अटलको धरानस्थित घरमा बस्थे । इसास अध्यक्षले तेज कुमार अटल मार्फत जोन पललाई पत्र पठाउथे, जोन पलले पनि अटलमार्फत नै पठाउथे, तर दुबैले एकअर्काले पठाएका पत्रहरु हात पार्दैनथे । यसको कारण के थियो भने सम्पूर्ण तालिम र लाइब्रेरी खर्च वापत जोन पलले उपलब्ध गराउने रकमको हिसाब किताब इसास अध्यक्षले थाहा नपाउन् भन्ने तेज कुमार अटल चाहन्थे । एक बर्षसम्म दुबैलाई दुरीमा राखेर अटलले फाइदा उठाएका थिए । त्यस समयमा म आफै सेकेण्डरी बोर्डिङ स्कुलको एक शिक्षक थिए र यसलाई नजिकबाट बुझेको थिएँ ।

तेज कुमार अटलले इटहरी वडा नम्बर ७ स्थित आफ्नो निजी जग्गामा एउटा बिशाल भवन बनाउने भनी नक्सा तयार गरी सबै शिक्षकहरुलाई देखाएका थिए । त्यसै भवनमा पब्लिक लाइब्रेरी सार्ने र सम्पूर्ण तालिम कक्षहरु सञ्चालन गर्ने उनको योजना थियो । काम सुरु गरिहाल्ने उद्येश्यले उनले भवनको नक्सासहितको एउटा ठूलो साइनबोर्ड रेन्बो आर्ट्सलाई पेण्ट गर्न समेत लगाएका थिए । तर तत्कालै मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भयो, र सबै योजना लथालिङ्ग भयो । मार्क प्रकाश लेप्चाले पनि कोअर्डिनेटर छाडे । साइनबोर्ड अलपत्र अवस्थामा रेन्बो आर्ट्समै धेरै महिनासम्म रह्यो । 

जतिबेला इटहरीमा पब्लिक लाइब्रेरी र बिभिन्न तालिमहरु सञ्चालित थियो, त्यतिबेला कोअर्डिनेटर मार्क प्रकाशलाई फिल्ड निरिक्षरण गर्न सजिलो होस् भनि जोन पलले एउटा मोपेड (पाइडल भएको मोटर साइकल) किनिदिएका थिए । त्यहि मोपेड लिई स्कुल सम्बन्धित कार्य गर्न मार्क प्रकाशलाई लिई तेज कुमार अटल इनरुवा गएका थिए । काम सकेर इनरुवाबाट फर्कदा महेन्द्र राजमार्गको सखुवागाछीमा दुर्घटना भई तेजकुमार अटलको मृत्यु भयो । 

उनको मृत्युपछि उनका भाई जिवन अटलले पब्लिक लाइब्रेरी र तालिमको पनि सबै जिम्मेवारी लिए । जिवन अटल मार्फत जोन पलले कोअर्डिनेटरमा धरानका सुदन मास्केलाई राखे । ब्यवसायिक तालिम सन्चालन गर्ने सुदन मास्के नै पछि कोअर्डिनेटर बनेका थिए । जिवन अटल धरान बस्थे भने इटहरीमा तेजकुमार अटलकी श्रीमति कल्पना बस्थिन, स्कुल र होस्टलसमेत हेर्थिन । जिवन र कल्पनाबिच स्कुलको जिम्मेवारी र जग्गाको स्वामित्वमा बिवाद बढ्दै गयो । प्रोजेक्ट भवन इटहरी ७ स्थित तेज कुमार अटलको जग्गामा बन्दा आफुभन्दा धेरै कल्पना अटललाई फाइदा हुने भएकाले जिवन अटलले जोन पललाई पछि समस्या पर्ने जनाउँदै, त्यहाँ भवन नबनाउन जोड दिए ।

त्यहि कारणले जोन पलले जिवन अटलसँग पनि कमै भेट गर्ने गरेका थिए । उनको बसाइ पनि धरान नभएर इटहरी हुन थालेको थियो ।  यसरी पब्लिक लाइब्रेरीको भवन स्थगित भयो र कुमार जोशीको घरमा रहिरह्यो ।

जोन पल नेपाल आएका बेला धरानबाट सुदनसँग त्यसै मोपेडमा इटहरी आउँथे र तालिम निरिक्षण गर्थे । मोपेड पुरानो भएकोले बिग्रिरहन्थ्यो र बनाउनका लागि धरणीधर दाहालको घरअगाडि रहेको ग्यारेज पुग्थे । साहित्य समुह अध्यक्षसँग जोन पलको दुरी बढेपनि जोन पल बेलाबेला घर नजिकै देखिन थालेका थिए । उनलाई घर नजिकै देख्दा मेरा दुई भाई अणु र यक्ष (धरणीधरका दुई छोराहरु) कुराकानी गर्न जान्थे ।

बुबा धरणीधरले भेट्न चाहिरहेको सुनाउँथे । जोन पल उत्तरमा भेट्छु भन्थे, तर भेट्न मन दिदैनथे । यसरी चार पाँच पटक झुक्याएपछि अणु र यक्षले उनलाई दुखेसो पोख्दै भनेछन्, ‘तिमी लायर रहेछौ, अब मेरो बुबाले तिमीसँग भेट गर्नुहुन्न ।’ त्यो भनाईबाट जोन पल ज्यादै दुःखी र लज्जित भएछन् ।

‘मेरो कारणले उहाँ दुःखि भएकामा क्षमा चाहन्छु र भोलि अवश्य भेट्नेछु’ भनेछन् । भोलिपल्ट जोन पलले साच्चै नै भेट गरे । क्षमा मागे र साढे दुई घण्टा कुराकानीमा बसे । दुबै जनाले एकअर्काको पत्रहरुको जवाफ नपाएकाले दुरी बढेको निस्कर्ष निकाले । ल्यापटप खोलेर लेखिएका पत्रहरु देखाउदै आफु दोषी नभएको पनि बताए ।

त्यसपछि जोन पलले धरणीधर दाहालसँग निरन्तर भेटे । उनले जग्गामा बिवाद भएकाले पब्लिक लाइब्रेरी बन्न नसकेको कुरा सुनाए । धरणीधर दाहालले पब्लिक लाइब्रेरी बनाउन जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । भेट गर्दैजाँदा पुस्तकालय बालबालिकादेखि युवासम्मका लागि अति आवश्यक भएको र त्यसका लागि अत्याधुनिक भवन चाहिने जसलाई व्यवसायिक तालिम दिनसमेत प्रयोग गर्न सकियोस् भनी छलफल भयो । त्यसका लागि फराकिलो जग्गा आवश्यक थियो ।

धरणीधर दाहाल निरन्तर जग्गाको खोजिमा रहे । आफ्नै एक विद्यार्थी र तत्कालिन इटहरी निवासी जग्गा खरिद–बिक्रिकर्ता बसन्त सुबेदीले इटहरीको सैनिक ब्यारेक दक्षिण डेढ कट्ठा जग्गा दिने निर्णय गरे भने इटहरी १ निवासी जीवनाथ घिमिरेले आफ्नो अञ्चल यातायात रहेको घरपछाडि पछाडिपट्टीको बाटो छुने दस धुर जग्गा दिने आश्वासन दिए । त्यसैबेला बसन्त सुबेदी जग्गा कारोबार र लेनदेनको कारण इटहरीबाट पलायन भए ।

अर्को जग्गा जोन पललाई देखाइयो तर उक्त दस धुर जग्गा भवनका लागि सानो भयो र पुनः अर्को जग्गा खोज्न थालियो । तत्कालिन इटहरी गाविसका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसँग, गाविसकै कुनै जग्गा भए पब्लिक लाइब्रेरीका लागि उपलब्ध गराउन समाजसेवी रामचन्द्र अधिकारी पनि लाग्नुभयो ।

गाविस अध्यक्षले गाविस परिसरभित्र दक्षिण–पुर्व कुनाको जग्गा प्रयोग गर्न सहमती जनाए ।

अन्य संस्थाहरुको सहयोग पनि आवश्यक पर्ने कुरा जोन पल नेपाल आएका बेला, धरणीधर दाहालले जोन पल समक्ष राखे । जोन पलले सहर्ष स्वीकारे । धरणीधर दाहालले राजा क्लब अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, इटहरी अध्यक्षलाई छलफलका लागि निमन्त्रण गरे । रेडक्रस अध्यक्ष कृष्णप्रसाद पौडेल उपस्थित भएपनि राजा क्लब अध्यक्ष उपस्थित भएनन् । तर राजा क्लबका साँस्कृतिक विधाका ज्ञानेन्द्र दाहाल (म आफैं) उपस्थित हुन सक्ने जानकारी अध्यक्षले दिए । त्यहाँ राजु केसी (हाल संगित साधना महाबिद्यालयका महासचिव) पनि उपस्थित थिए ।

धरणीधर दाहालको अध्यक्षतामा पब्लिक लाइब्रेरीमा भएको छलफलबाट पुस्तकालय सहित निःशुल्क ब्यवसायिक तालिम र भवन निर्माण, उल्लेखित तीन संस्थाको संरक्षणमा हुने माइन्युट गरियो । माइन्युटमा धरणीधर दाहाल, कृष्णप्रसाद पौडेल, म (ज्ञानेन्द्र दाहाल), जोन पल एवर्फिल्ड, जिवी लुगुन आदिले दस्तखत गरेका थिए ।

बृहत उद्देश्यको भवन बन्ने भएकोले भवनको नाम साँस्कृतिक केन्द्र राखिने भयो । तत्कालिन गाबिस परिसरको दक्षिणपुर्व कुनामा त्यो भवन बन्ने पक्का भयो । अध्यक्षको नाताले धरणीधर दाहालबाट नै शिलान्यास गरियो । शिलान्यासमा गाबिस अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, इटहरी साहित्यिक समुहका कृष्ण बिनोद लम्साल, बरिष्ठ पत्रकार याम प्रधान, नेपाली काँग्रेसका सरोज दुलाल, गायक प्रकाश ओझा, अणु दाहाल आदिको उपस्थिती थियो ।

साँस्कृतिक भवन, पब्लिक लाइब्रेरी र ब्यवसायिक तालिमको सम्पुर्ण खर्च जोन पलमार्फत् पश्चिम युरोपको एउटा राष्ट्र लक्जमबर्गको ब्रिडलरेक डेलन नामक गैर सरकारी संस्थाले गर्दथ्यो । साँस्कृतिक भवनका लागि ६३ लाख रुपैया खर्च गर्दैथ्यो । त्यसैले जग्गाको अधिकारसम्बन्धि आवश्यक कागजात मागेको कुरा जोन पलले धरणीधर दाहाललाई सुनाए । गाबिसबाट कागजात लिनुपर्ने भएकोले पनि इटहरीकै स्थानिय एक संयोजक आवश्यक भयो । सम्पुर्ण लक्जमबर्ग प्रोजेक्टको संयोजकमा अणु दाहाललाई राखे र सम्पुर्ण कागजात तयार गर्न अह्राए ।

धरानका सुदन मास्केले कोअर्डिनेटर छाडे र अणु दाहाल कोअर्डिनेटर बने । अणु दाहालले कुमार जोशीको घरबाट लाइब्रेरी सारेर आइतबारे रोड, हालको मनशान्त होटलअगाडि लगे, किनकी कुमार जोशीको घरमा लाइब्रेरी साँघुरो भएको थियो । र केहि महिनापछि इटहरी पुर्व–लाइन सतिस लम्सालको घरमा ल्याए ।

इटहरी, गाविसबाट नगरपालिकामा रुपान्तरित भएको थियो । भवन निर्माणका लागि अणु दाहालले नगरपालिकाबाट एउटा पत्र माग गरे । त्यस पत्रले जग्गाको अधिकार प्रत्यायोजन गर्दथ्यो । नगरपालिकाका तत्कालिन मेयर सर्वध्वज साँवाद्वारा हस्ताक्षरित त्यो पत्र लिगल एड प्रोजेक्टका वकिल बि.पी. पौडेललाई साक्षी राखि मेयर स्वयम्ले २०५५ असार १ गते कोअर्डिनेटर अणु दाहाललाई बुझाए । त्यस पत्रमा साँस्कृतिक केन्द्र बनाउने ठाउँको लोकेशन, त्यसको मुल्य, बनाउनु पर्ने उद्येश्यहरु तथा भवन तयार भएपछि सरोकारवाला संस्थालाई हस्तान्तरण गर्ने, र सरोकारवाला संस्थाबाहेक कुनै पनि नीजि वा सरकारी कार्यालय उक्त भवन भित्र नरहने भन्ने ब्यहोरा उल्लेख गरिएको थियो ।

त्यस पत्रसँग सँलग्न राखि इटहरीका सम्बन्धित संस्थाहरुका अध्यक्षको पनि सहमती र हस्ताक्षर गरियो र लग्जम्बर्गको ब्रिडरलेक डेलन गैर सरकारी संस्थालाई २०५५ असार २ गते पठाइयो । सरोकारवाला संस्थाहरुमा इटहरी साहित्यिक समुहका अध्यक्ष धरणीधर दाहाल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कृष्णप्रसाद पौडेल र राजा क्लबका अध्यक्ष बालकृष्ण कार्कीको हस्ताक्षर थियो । सरोकारवाला संस्थाका तर्फबाट बहुउद्येश्यीय भवनलाई, निर्माणपछि पब्लिक लाइब्रेरी, ब्यवसायिक तालिम, बिभिन्न बैठक तथा सम्मेलन र बिद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिने कार्यमा प्रयोग गर्ने उल्लेख थियो ।

भवनको नक्सा तयार थियो । जसअनुसार भुई तला उत्तरपट्टी प्राथमिक उपचार कक्ष, साँस्कृतिक केन्द्रको सचिवालय र पाले कक्ष, दक्षिणपट्टी श्रब्य दृश्यसहितको सम्मेलन कक्ष रहने; पहिलो तलाको उत्तरपट्टी सार्वजनिक पुस्तकालय, दक्षिणपट्टी श्रब्यदृश्यसहितको बैठक कक्ष र साथै युवाहरुका लागि खेल सामाग्री भएको कक्ष रहने; दोश्रो तलालाई सम्पुर्णरुपमा सिलाई कटाई, बिद्युत जडान, पेण्टिङ र अंग्रेजी भाषा सिकाईको कक्षहरु रहने भनि इटहरी नगरपालिकाले लग्जम्बर्गको परराष्ट्र मन्त्रालयलाई स्विकृत भएको पत्र समेत पठाएको थियो । 

२०५५ असार १६ गते ठेकेदार, इन्जिनियर र कोअर्डिनेटरले संयुक्त हस्ताक्षर गरी कार्य सम्झौता गरेका थिए । त्यो सम्झौता पत्र नगरपालिकालाई पनि बुझाइएको थियो । नगरपालिकाले सहमती गरी ब्रिडरलेक डेलनलाई पठाएको थियो । उक्त पत्रमा पनि साँस्कृतिक केन्द्रको निर्माणपछि संचालनका लागि सरोकारवाला संस्थालाई बुझाउने सहमति र ठेकेदारले अपनाउनु पर्ने कामहरु र नियमहरु उल्लेख गरिएको थियो ।

साँस्कृतिक केन्द्रको निर्माण हुँदै गर्दा धरणीधर दाहालको अध्यक्षता र अणु दाहालको संयोजकत्वमा ब्रिडरलेक डेलनबाट इटहरीमा अन्य धेरैभन्दा धेरै कार्यहरु भए । १. इटहरी आइतबारेस्थित कबिर स्कुल दक्षिणपट्टीको भवन, २. बुढीगंगा स्कुल दक्षिणपट्टीको भवन, ३. लक्ष्मी प्रा.बि. उत्तर–पश्चिमपट्टीको भवन, ४. शान्तीश्रृजना स्कुलको पुर्वपट्टीको भवन करिब ६० लाख रुपैया खर्चमा बनिएको थियो ।

इटहरीका धेरै स्कुलमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई निशुल्क पठनपाठनको ब्यवस्था गरिएको थियो । धेरै ठाउँमा ब्यवसायिक तालिमहरु संचालित थिए । त्यसबेला टेंग्रा खोलामा महेन्द्र राजमार्गको पक्की पुल बाहेक अन्य कुनै पुल थिएन । बैकल्पिक बाटोको खाँचो दर्शाउदा जोन पलले फलामे पुल बनाउन सुझाए । लग्जमबर्ग सरकारबाट सहयोग ल्याई इटहरी ४ मा फलामे पुल ९ब्ल्ल्ब् द्यच्क्ष्म्न्भ्० निर्माण गरिएको थियो । 

साँस्कृतिक केन्द्र भवन अन्तिम अवस्थामा आएको थियो । त्यस समय इटहरीमा कुनै प्रकारको मनोरन्जनात्मक स्थल थिएन, त्यसैले साँस्कृतिक केन्द्रको छतमा चिया चमेनासमेत अनेकौ मनोरन्जनात्मक कार्य जस्तै कि भिडियो गेम, वरिपरि दृश्य अवलोकन गर्ने हेतु करिब १२ लाखको अनुमानित लागतमा ट्रस्ट र जस्ताको शेड हाली एक मनोरन्जनस्थल (च्भअचभबतष्यल ऋभलतभच) निर्माण गर्ने योजना भयो । त्यस कार्यका लागि तरहराका ठेकेदार प्रेम गुरुङलाई जिम्मा दिइएको थियो । तर ठेकेदार लिलम बस्नेतले आफु स्थानिय पनि भएको, आफुले नै पहिलेको बिल्डिङ पनि बनाएको र त्यो पनि आफुले नै पाउनु पर्ने भनि अड्चन थापेपछि निर्माण रद्ध भयो । 

ठेकेदार लिलम बस्नेत सम्बन्धमा कुरा के थियो भने, भवन बनाउने जिम्मेवारी पाएका धरानका ठेकेदार लिजेराम अग्रवालले तेश्रो तला बनाउने समयमा आर्थिक संकटको समस्या देखाएका थिए । त्यसैबेला निर्माणधिन भवन नजिकै घर भएका नयाँ ठेकेदार लिलम बस्नेतले आफुले बाँकि भवन बनाउन ठेक्का लिने मनसाय देखाएकाले, कोअर्डिनेटर अणु दाहालले लिजेराम अग्रवाल र लिलम बस्नेतबिच सहमति गराइदिएपछि अन्तिम समयको कामको जिम्मा लिलम बस्नेतले पाएका थिए । अन्तिम समयमा ठेकेदारी सम्हालेका लिलम बस्नेतसँग त्यतीबेला धेरै कमजोरीहरु थिए । सबैभन्दा ठुलो कमजोरी रकम भुक्तानीका लागि ताकेता गर्ने गर्थे र धेरै दवाब दिन्थे । 

प्रतिक्षारत हुन सकस भएको ब्यक्त गर्दथे र आफै सम्पर्क गर्न कोअर्डिनेटरबाट जोन पलको ठेगाना लिएका थिए । कोअर्डिनेटरबाट प्राप्त जोन पलको इमेल ठेगानामा आफै सम्पर्क राखी अनावश्यक दवाब समेत दिएका थिए । अन्तिममा भवनको निर्माण कार्य लिलम बस्नेतबाट नै सकिएको थियो, त्यससँगै जोन पल पनि उनको अस्वभाविक ब्यवहारले आजित भएका थिए । त्यसकारण नयाँ कामको ठेक्का बस्नेतलाई दिन इन्कार गरे र थप काम हुन सकेन ।

भवन निर्माण पुर्णरुपले समाप्त भयो । ठेकेदार लिजेराम अग्रवालले भवन कोअर्डिनेटर अणु दाहाललाई हस्तान्तरण गरे । कोअर्डिनेटर अणु दाहालले भाडामा राखिएको घरबाट पब्लिक लाइब्रेरीलाई साँस्कृतिक केन्द्रको भवनमा सारे । अध्यक्ष धरणीधर दाहालले पनि आफ्नो घरको लाइब्रेरीका करिब दुई हजार पुस्तकहरु पब्लिक लाइब्रेरीलाई दिए । कोअर्डिनेटरले सरोकारवाला संस्थाका पदाधिकारीलाई डाकी छलफल गराई साँस्कृतिक केन्द्र संचालन सम्बन्धमा जिम्मा दिने तयारी गर्दैथिए, त्यसैबेला इटहरी नगरपालिकाले उक्त भवनको तालाचाबी आफुलाई बुझाउन दवाब दियो ।

उक्त भवन नगरपालिका परिसरमै थियो । नगरपालिकाले आफुले चलाउन चाहे अरु कसैको केहि चल्दैनथियो । तर नगरपालिकाका मेयरले नै एउटा स्वायत्त संस्थाको रुपमा साँस्कृतिक केन्द्र चल्ने लिखित सहमति गरेकाले पछि कुनै प्रकारको बाधा ब्यवधान नहोला भन्ने थियो ।

तर नगरपालिकाको बलजफ्तीपनमा कोअर्डिनेटरको केहि चलेन । कोअर्डिनेटरले साँस्कृतिक केन्द्रको चाबी अध्यक्ष धरणीधर दाहाललाई दिए । धरणीधर दाहाललाई पनि निरन्तर दवाब दिएपछि त्यो दवाब उनले पनि थेग्न सकेनन् । तिनी दिन प्रतिदिन प्रतिकुल स्वास्थ्य अवस्थाबाट गुज्रिए ।

कुनै पनि औपचारिक कार्यक्रम बिनै धरणीधर दाहालले नगरपालिकाको मेयर कक्षमा मेयरका अघि चाबीलाई टेबलमाथि राखेर साँस्कृतिक भवनलाई नगरपालिकाको जिम्मा लगाए । त्यसपछि बिगतका तमाम् सम्झौता र सहमतिका बावजुद, साँस्कृतिक भवनमाथि नगरपालिकाको एकाअधिकार हुन गयो, मात्र नगरपालिका परिसरमा बनेको भवन भएकोले । त्यसपछिका धेरै बर्षहरु नगरपालिकाका कर्मचारीले पब्लिक लाइब्रेरी चलाए । 

एकदिन तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालको हातबाट उद्घाटन समेत गराएर राजनीतिक रंग भर्दै इटहरी नगरपालिकाले उक्त भवनमाथि आफ्नो मात्र प्रभुत्व रहेको सार्वजनिक गर्यो । त्यै पनि त्यस साँस्कृतिक भवनलाई नगरपालिकाले भनेजसरी उपयोग गर्न सकेको छैन । कहिले निर्वाचनको मतपत्र गणनास्थल बन्नेगर्छ, कहिले अस्थायी वा म्यादी प्रहरीको आश्रयस्थल बन्ने गर्छ ।

केहि सामान्य भेला, समारोह र कार्यक्रमबाहेक त्यहाँ नगरपालिकाको गहकिलो काम भएको पाइदैन । किनकि त्यसलाइ कसरी र कसले उपयोग गर्ने बिषयमा नगरपालिका अनभिज्ञ छैन । सबै कुरा खुलस्त छ, त्यसमा मेयरको सहमती हस्ताक्षर पनि छ । 

(लेखक इटहरी मोडल स्कुलका प्रिन्सिपल तथा साँस्कृतिक भवन निर्माणमा सक्रिय भुमिका निभाएका धरणीधर दाहालका छोरा हुन् ।फागुन ५ गते स्व. धरणीधर दाहालको ९२ औं जन्मजयन्तीको अवसरमा यो खोजमुलक लेख प्रकाशन गरिएको हो ।)