​भ्यालेन्टाइन डे होस् कि हेलेन्टाइन डे होस्, माया प्रेममा फरक छ पोखिहाल्न हुँदैन

Newslaya Home

​भ्यालेन्टाइन डे होस् कि हेलेन्टाइन डे होस्, माया प्रेममा फरक छ पोखिहाल्न हुँदैन

-लक्ष्मीप्रसाद कोइराला
मङ्गलबार २९, माघ २०७५

​अङ्ग्रेजीमा भ्यालेन्टाइन डे भन्नुहोस् या हेलेन्टाइन डे, जे भन्नुहोस् । नेपालीमा यसलाई प्रणय दिवस अर्थात प्रेम दिवस भनेर चिन्न थालिएको धेरै भएको छैन ।यसको प्रारम्भिक उठान इतिहास जे–जसरी भएतापनि पश्चिमा देशबाट नै सुरूवात भएकोमा शंका छैन । नेपाली संस्कृति झैँ बनेर पछिल्लो समय यसले निकै फस्टाउने मौका पाएको छ । तर यो पूर्वीय संस्कृति भने होइन ।

गुलाफी मूल्य बराबरमात्र मायाप्रेम होइनः
यो दिवसले एकातिर गुलाफ फूलको व्यापार ह्वात्तै बढाएको छ भने अर्कातिर प्रेमको प्रतिक मानेर साटासाट गर्ने बहानामा खुल्लमखुल्ला प्रेम प्रस्ताव राखेर गम्लङ्ग अङ्गालो नै मारी हाल्ने अनि मायाप्रेम घप्लकै पोखिहाल्ने संस्कृतिको विकास गर्न खोजिएको छ, त्यो मायाप्रेम भनेको एउटा गुलाफको फूलमै घप्लक्कै पोखी हाल्ने गरी त्यती सस्तो मानवीय भावना होइन ।

माया प्राकृतिक मानवीय भावना होः
मायाको उत्पति अन्तरहृदयबाट हुन्छ । यो स्वचालित यन्त्रजस्तो छ । इच्छा गर्नुहोस् आफै उत्पन्न हुन्छ । मान्छेले सबै वस्तुको नयाँ र कृत्रिम संरचना र निर्माण गर्न सकेपनि आफैमा मायाको सकेको छैन । त्यसैले माया भनेको प्राणी जातिलाई प्रकृतिले दिएको प्राकृतिक उपहार हो भन्दा फरक नपर्ला । 

संसारलाई चलायमान राख्नका लागि प्रकृतिले विभिन्नवस्तुको संरचना गरेपछि जिवित प्राणीलाई ती वस्तुभन्दा भिन्न राख्नका लागि आवश्यकता महसुस गरि मायाको क्षेत्र व्यापक तोकिएको हुनुपर्छ । सबै वस्तुको झैँ चित्र र बिम्बहरु खुल्ला सिर्जना गर्दा अनिश्चय हुने हुनाले माया शोचनीय कल्पना भन्दापनि भावानात्मक भाव अभिव्यक्त गर्न यसको सिमा निर्धारण गरिदिएको हुनु पर्दछ । यसको विकास प्राणीप्राणीमा फरक पर्दछ । व्यक्त गरिने शैलीमा फरक पर्दछ तर पनि जीवन र जगतमा यो निरन्तर विकास भएरै छाड्छ । परिवर्तित समय सङ्गसङ्गै मानवीय मायाभावमा पनि त्यसको प्रभाव पर्दो रहेछ ।

प्रेम माया पनि हो तर मायाचाहिँ प्रेममात्र होइनः
मलाई लाग्छ प्रेम गर्नुमात्र माया होइन । प्रेम भनेको त विपरीत लिङ्गीहरुबीच कामबासनाका लागि गरिने मायाको एउटा भाग हो । प्रेममात्रैले व्यापक मायाको स्वरुपको प्रतिनिधित्व या पहिचान हुन्छ भन्न थाल्यो भने मायाको वास्तविक अर्थलाई सङ्कुचित गर्नु हो अथवा मायाको परिभाषा लगाउन कन्जुस्याइँ गर्नु हो भन्दा फरक नपर्ला । प्रेमको परिभाषा मायाका साथमा गर्नुभन्दा पनि रुप, गुण, स्वभाव, सामिप्य अथवा कामवासनाका कारणवशमा हुने स्त्रीपुरुषबीचको पारस्परिक अनुराग, प्यार, प्रीति र कृपाचाहिँ प्रेम हो भनि अर्थ्याउदा अतियुक्ति नहोला । त्यसैले प्रेम मायापनि हो तर मायाचाहि प्रेममात्र होइन है साथी हो ।

मायाचाहिँ आखिर के हो तः
माया भनेको त अन्तरवस्तुप्रति आफूलाई लागेको दुःखसुख अनुभव व्यक्त गर्ने प्राकृतसत्य मानवीय भाव हो । कुनै वस्तु नष्ट हुँदा त्यसले गर्ने काममा हानी हुन्छ र त्यो हानीप्रति एउटा मानवीय भाव पैदा हुन्छ त्यो भाव भनेको नै माया हो । मानौं एउटा शिक्षकले चकलाई भाचेरभन्दा पनि सिङ्गो चकले कालोपाटीमा लेखि सिध्याउन चाहन्छ । त्यो चकलाई भाचेर लेख्न ऊ चाहँदैन अथवा चक भाँच्न कन्जुस्याइँ गर्नुको अर्थ उसको अन्तरहृदयमा चकप्रतिको सहानुभूति अर्थात् मायाभाव पैदा हुन पुग्नु हो । यो आफैमा प्रेम हुन सक्दैन । 

यसरी मान्छेको हृदयभित्र दयालुभाव जन्मजात हुनेभएको हुनाले त्यसको उत्पति हुने अवस्था भने पैसाको सन्दर्भरहित वस्तुको लाभ र हानीमा निर्भर हुन जान्छ । यदि कुनै वस्तुले व्यापक लाभ पुर्याएको सन्दर्भमा माया लाग्छ,हानी पुर्याएको अवस्थामा दुःख लाग्छ । यो प्राकृतिक मानवीय भाव हो ।

मायाप्रेमका नानाथरी अर्थहरुः
मायालाई कसैले एकटुक्रा हीरासङ्ग तुलना गरेका छन् त कसैले धरिलो हतियारसङ्ग त कसैले उज्यालो ज्योतिसङ्ग । कसैले आइस्टाइनको E=mc2 formula भन्दा जटिल सुत्रसङ्ग । त्यस्तै विभिन्न सामाजिक सञ्जालहरुमा कसैले LOVE  को परिभाषाL=lake of sorrows,O=ocean of tears,V=valley of death, E=End of life भनी Fullform बताउने गरेको पाइन्छ । त्यस्तै Oxford Mini Dictionary  मा very strong effection and sexual attention भनी अर्थ्याइएको छ ।

नेपाली शब्दकोषमा माया र प्रेमको अर्थः
माया ९नेपाली शब्दकोषको अर्थ जस्ताको त्यस्तै०स्
मोहवस कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा अनुराग, स्नेहको भाव, प्यार, प्रीति, ममता, ममत्व । कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक, तथा मिथ्या धारणा वा आभास, धोका, छल, कपट । कुनै छलपूर्ण काम वा कुरा (जादु–टुना, इन्द्रजाल, चटक)।वेदान्तका अनुसार सम्पूर्ण काम सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति लीला । अविद्या, अज्ञान जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति, धन, सम्पति दौलत, कुटनीति, दाउपेच, लक्ष्मी, दुर्गा

प्रेम (नेपाली शब्दकोषको अर्थ जस्ताको त्यस्तै)ः
कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न आकर्षण वा आत्मीयता, अनुराग, रुप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री–पुरुषमा परस्पर हुने अनुराग, प्यार, प्रीति ।

जेहोस् यी अर्थ बिम्ब, प्रतीक र पर्यायबाट माया र प्रेमलाई जे जसरी परिभाषित गर्न खोजिनु अर्थात् अर्थ्याउन खोजिएको छ, भ्यालेन्टाइन डे हो भन्दैमा अर्थै भ्रमित हुनेगरी प्रयोग नगर्दा राम्रो हो ।

मलाई त लाग्छ माया सर्वव्यापक छ । यो कहाँ र कुन ठाउँमा पुगेको हुँदैन र ? एउटा पुँजीपतिलाई पुँजीको माया हुन्छ । एउटा श्रमिकलाई श्रमको माया हुन्छ । राष्ट्रप्रमुखलाई राष्ट्रको माया हुन्छ । देशको सरकारलाई जनताको माया हुन्छ । नेतालाई आफ्ना कार्यकर्ताको माया हुन्छ । कार्यकर्तालाई पार्टीको माया हुन्छ । प्रेमीलाई प्रेमिकाको माया हुन्छ।शिक्षकलाई विद्यार्थीको माया हुन्छ । बिरामीलाई औषधिको माया हुन्छ । यसरी मायाको कुरागर्दा सर्वव्यापक रहेको पुष्टि हुन्छ तर यो एक्काइसौं सदिको आजको मान्छेले मान्छेलाई गर्ने माया मान्छेको जस्तै हुनु पर्दथ्यो तर भएको छैन । 

एउटा कुखुरीसम्मले बाजको पञ्जामा आफ्ना चल्लाहरु नपरुन भनेर पखेटाले छोपेर चल्लाको माया गर्छ भने त्यो कुखुरीले गरेको जतिपनि मान्छेले मान्छेलाई माया गरेको छ कि छैन रु यो सोचनिय विषय बनेको छ ।

सर्वशक्तिमान पैसा र कमजोर माया हुनु हुन्नः
यो एक्काइसौं सदिमा पैसा सर्वशक्तिमान भएको छ । लोभानी पापानी बढिरहेको छ । परिणामस्वरूप मानवीय मायाभाव पनि दिनानुदिन ह्रास हुँदै गइरहेको छ । देशको माया गर्ने दायित्व लिएका जो कोहीले आफ्नो दायित्व पूरा गरिरहेका छैनन् । हिजो जनताको माया पाएका नेताहरू रातारात जनताको माया नपाउने भएका छन् ।शिक्षकले विद्यार्थीको माया गर्नुपर्दथ्यो तर त्यो भैरहेको छैन । 

मलाई त यस्तो लाग्छ अबका केही दशकपछि आफ्ना असीमित आवश्यकताहरु परिपूर्ति गर्नका लागि मान्छेले मायालाई बिर्सदै जाने छ र एकदिन त्यस्तो दिन आउने छ, ‘जुनदिन अक्सिजनका कृत्रिम सिलिन्डरहरु पोलपोलमा झुन्ड्याए झैँ मायाका सिलिन्डरहरु पनि मान्छेले बनाउन सकेदेखि शहरबजारका घरघरमा, कोठाचोटामा, दोकानदोकनमा वा आफूलाई सर्वशक्तिमान सम्झने स्वघोषित महापुरुषहरुका किल्ला किल्लामा मायाका सिलिन्डरहरु झुन्ड्याउनु पर्ने अवस्था आउन सक्छ ।’ त्यसबाट सचेत रहनु आम मानिस जातिको कर्तव्य हो ।

निष्कर्षः
भ्यालेन्टाइन डे होस् कि हेलेन्टाइन डे होस् अपरिचितलाई गम्लङ्ग अङ्गालो हालेर मायाभाव प्रकट गरेको भन्न मिल्दैन । न प्रेमभाव नै प्रकट गरेको भन्न मिल्छ । माया र प्रेममा फरक छ । यसलाई कसैको इच्छा विपरीत घप्लक्कै पोखि हाल्न पनि हुँदैन । लौ त मान्छेले मान्छेलाई गर्ने माया मान्छेको जस्तै होस् । कुखुरीले चल्लालाई गरेकोभन्दा कम्ति नहोस् फेरि त्यस्तैपनि नहोस् । मान्छेको जस्तै होस् । घप्लक्कै नपोखियोस् । प्राकृतिक मायाभाव नै पर्याप्त छ । त्यसलाई बचाइ राख्नु होस् । मायाका किर्तिम सिलिन्डर हुदैनन् पनि र बनाउने प्रयास पनि नगर्नुहोस् है सक्नु हुन्न ।
शुभकामना ।