​धरानको पर्यटन विकासमा छुट्याइएको ६३ लाख रकम दुरुपयोग

Newslaya Home

​धरानको पर्यटन विकासमा छुट्याइएको ६३ लाख रकम दुरुपयोग

सोमबार २८, माघ २०७५

धरान । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा छुट्याएको बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग भएको छ । 

उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा खर्च गरेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरेको हो ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो । छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ । 

तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट दुरुपयोग गरिएको जनाइएको छ ।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ । 

धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ। 

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको बजेट दुरुपयोग नगरेको दावी गरेकी छन् ।