​फेसबुकलाई जर्मनी सरकारले लगायो यस्तो आरोप

Newslaya Home

​फेसबुकलाई जर्मनी सरकारले लगायो यस्तो आरोप

सोमबार २८, माघ २०७५

काठमाडौं ।  जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाएको छ । 

फेसबुकलाई जर्मन सरकारले आफ्नो विज्ञापन बजारलाई मजबुत बनाउनका लागि आफ्ना अन्य सोसल मिडिया प्लाटफर्महरु र थर्ड पार्टी वेबसाइटहरुका डाटाहरु को दुरुपयोग नगर्न आदेश दिएको छ ।

फेसबुकले आफ्नो विज्ञापन व्यवसायलाई बढाउनका लागि फेसबुक मात्र नभै इन्स्टाग्राम, ह्वाट्सएप जस्ता आफ्नै सोसल मिडिया एपहरु तथा अन्य थर्ड पार्टी वेबसाइटमा रहेका प्रयोगकर्ताका डाटाहरुको समेत उपयोग गर्ने भएको छ । जर्मन सरकारको यस्तो आदेशपछि अब फेसबुकले फेसबुकको प्लाटफर्ममा विज्ञापनका लागि अन्य एप तथा वेबसाइटका डाटाहरुको प्रयोग गर्न पाउने छैन ।

यसले फेसबुकको विज्ञापन बजारमा असर पार्ने र फेसबुकमाथि दबाब सिर्जना हुने विज्ञहरुको भनाई छ ।

फेसबुक प्रयोग गर्नका लागि मानिसहरुले पैसा तिर्नु पर्दैन । तर वास्तवमा फेसबुक प्रयोगकर्ताले आफ्ना डाटाहरु फेसबुकलाई प्रदान गरेर त्यसको मूल्य चुकाएका हुन्छन् । फेसबुकले प्रयोगकर्ताका यस्तै डाटाहरुको विश्लेषण मार्फत विज्ञापनदाताका विज्ञापनहरु लक्षित प्रयोगकर्तासम्म पुराएर मोटो रकम कमाउने गरेको छ ।

अर्ब भन्दा धेरै प्रयोगकर्ता भएका इन्स्टाग्राम र ह्वाट्सएप समेत आफुमा विलय गराएपछि फेसबुक कम्पनी विश्वका अर्बौँ मानिसका डाटाको भण्डार बनेको छ ।

नियामक निकायले फेसबुक कम्पनीलाई आफ्ना प्रयोगकर्ताको डाटा संकलन गर्न तथा अन्य प्लेटफर्मका डाटाहरुलाई एकत्रित गर्नका लागि प्रयोगकर्ताको सहमति अनविार्य रुपमा लिन समेत आदेश दिएको छ ।

फेसबुकले भने जर्मन सरकारको यस्तो आदेश प्रति असहमति जनाउँदै त्यस विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

साथै फेसबुकले आफु विरुद्ध जर्मन निकायले अस्वभाविक मादपण्ड लाद्ने कोसिस गरेको आरोप लगाएको छ ।