​संघीयताको कार्यान्वय गर्न सरकार प्रतिवद्ध : मन्त्री ढकाल

Newslaya Home

​संघीयताको कार्यान्वय गर्न सरकार प्रतिवद्ध : मन्त्री ढकाल

शनिबार २६, माघ २०७५

विराटनगर । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले संघीयताको कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । उनले संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न पनि आग्रह गरे । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ कमिटीद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्म्ोलनमा मन्त्री ढकालले यस्तो  बताएका हुन । 

उनले भने ‘संघीयता हामी सबैले लडेर ल्याएको व्यवस्था हो । संघीयता कार्यान्वय गर्ने बिषयमा सरकार संवेदनशील भएर लागेको  छ ।’ 

उनले संघीयता समृद्ध गर्ने बिषयमा अधिकारको बाँडफाडको बिषयको सन्र्दभमा सरकारले कुनै आदेश वा अध्यादेश नल्याएर प्रस्ताव मात्र ल्याएको पनि  बताए । 

शुक्रबार मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानले व्यवस्था गरे अनुसार प्रदेश र स्थानीय तहलाई सरकारले अधिकार नदिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । 

उनले स्थानीय सरकारलाई  कमजोर पार्ने र पूराना संरचनालाई बलियो बनाउने काम भइरहेको बताएका थिए । 

मन्त्री ढकालले  संविधानत प्रदेश सरकारमा नै अधिकार दिने र समन्वय संघीय सरकारले गर्ने भन्ने कुरा एकातर्फबाट आएको र अर्को तर्फबाट एकात्मक मोडलबाट संघीयतामा गएकाले क्रमश अधिकार दिने कुरालाई पुर्णता दिदै जाने बताए । 

मन्त्री ढकालले संविधान कार्यान्वयका लागि आवश्यक कानून मध्ये अहिलेसम्म १ सय ६५ वटा कानुन निर्माण भई सकेको जानकारी दिए । अन्य बाँकी कानून निर्माणको सन्र्दभमा पनि  ऐन संसोधन गरी १ सय ९ वटा कानून संसोधनको प्रकृयामा अघि वढाइएको उनले बताए