​अब जग्गा ९ भागमा वर्गीकरण गरिने

Newslaya Home

​अब जग्गा ९ भागमा वर्गीकरण गरिने

शनिबार २६, माघ २०७५

काठमाडौं । अब जग्गालाई नौ भागमा वर्गीकरण गरिने भएको छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र गरि जमिनलाई नौ भागमा वर्गीकरण गरिएको हो । 

यसअघि जमिन अब्बल, दोयम, सीम र चाहार गरी चार प्रकारको हुने प्रचलन थियो । सरकारले आवश्यकताअनुसार अन्य क्षेत्रका रुपमा पनि जमिनको वर्गीकरण गर्न सक्ने बताइएको छ । 

भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं सह–सचिव जनकराज जोशीका अनुसार भूमि उपयोग गर्ने उद्देश्यबाट जग्गाको यस्तो विभाजन गरिएको हो । यसरी वर्गीकरण गरिएका जग्गा अर्को प्रयोजनका लागि उपयोग गर्न नपाइने पनि उनले बताए ।

भूउपयोग नीति २०५९ बाट नै जग्गाको वर्गीकरण परिवर्तन भएको हो । भूउपयोग नीति २०७२ मा पनि जग्गालाई ११ क्षेत्रमा वर्गीकरण गरिएको थियो । जग्गा नाप जाँच ऐनले कृषि क्षेत्र र व्यवसायिक क्षेत्र गरी दुई किसिमका जग्गा वर्गीकरण गरेको छ । कुनै स्थान वा बस्ती विपद वा प्राकृतिक प्रकोपको कारण असुरक्षित भएमा त्यस्तो क्षेत्रलाई असुरक्षित वा अव्यवस्थित स्थान घोषणा गरेर मात्रै भूउपयोग परिवर्तन गर्न सकिने व्यवस्था छ ।

प्रदेश वा स्थानीय तहले यीबाहेक अन्य कुनै भूउपयोग क्षेत्रको वर्गीकरण गर्न आवश्यक ठाने संघीय भूउपयोग परिषद्मा लेखी पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित ऐनले जग्गाको खण्डीकरण नियन्त्रण र कित्ताकाटलाई नियमन गर्ने बताइएको छ । नयाँ घर निर्माण वा बसोबासका पूर्वाधार थप वा विस्तार गर्न नसकिने प्रावधान ऐनमा राखिएको छ ।