​‘हामीले अपेक्षा गरे अनुसार जनतालाई दिन सकेका छैनौँ’

Newslaya Home

​‘हामीले अपेक्षा गरे अनुसार जनतालाई दिन सकेका छैनौँ’

शुक्रबार २५, माघ २०७५

सुनसरीको इटहरी वडानम्बर–७ इटहरीकै ग्रामिण वडामा पर्छ । सुकुम्बासीवस्ति र निम्न वर्गका मानिसहरुको बसोबास रहेकोे यो वडामा जनप्रतिनिधि आएपछि विकास निर्माणका काम अघि बढिरहेको छ । वडाको काम, योजनाको विषयमा वडाध्यक्ष नर बहादुर राईसँग न्युजलयकी सरिता भण्डारीले लिएको अन्तर्वार्ता ः

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
आजभोली हामी वडाको विकास निर्माणको योजना बनाउनमा व्यस्त छौँ । उपभोक्ता समितिहरुसँग भेटघाट गरेर कसरी सहकार्य गरि योजनाहरुलाई छिटो र त्यसलाई चाँडै सम्पन्नगर्ने भन्ने विषयमा नै लागि परेका छौँ ।

वडाको विकासको अवस्था कस्तो छ ?
पहिलेको भन्दा वडाको विकासको अवस्था राम्रो छ । धेरै विकास निर्माणका कामहरु भइहरेका छन् ।
हामी जन प्रतिनिधि भएर आएपछि वडाले अहिले धेरै विकास गति लिएको छ । यस वडाको शिक्षाको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो छ । अहिले सामुदायिक विद्यालयमा पनि पहिले भन्दा अहिले शिक्षाको गुणस्तर राम्रो छ । हामी आफै पनि सामुदायिक विद्यालयमा गएर त्यहाँका सञ्चालक र प्र.अ. हरुसँग बसेर कसरी शिक्षालाई अगाडी बढाउने र त्यहाँ भएका विद्यार्थीहरुलाई कसरी गुणस्तर शिक्षा प्रदान गर्ने भनेर महिनामा एक पटक छलफल गर्ने कार्य पनि भइरहेको छ ।

वडाको कुन कुरालाई विकासको पहिलो प्राथमिकता दिनु भएको छ ?
यस वडाको जतिपनि बाटोघाटोहरु छन् त्यसको निर्माणलाई पहिलो प्राथमिकता दिएको छौँ । यस वडामा पर्नेमुल बाटाघाटालाई कालोपत्रे गर्ने र साखा बाटाहरुलाई ग्राभेल गर्ने योजना रहेको छ । 

तपाईलाई कर्मचारीहरुले कतिको सहयोग गरिरहेका छन् ?
मैले कर्मचारीहरु बाट अपेक्षा गरे अनुरुपको साथ र सहयोग पाइरहेकै छु र म उहाँहरुको कार्य प्रति सन्तुष्ट नै छु । तर पनि केहि कर्मचारीको भने अभाव रहेको छ । कार्यालयमा अहिले कार्यालय सहयोगिको अभाव पनि रहेको छ । कार्यालयमा सहयोगि नभएकोले गर्दा कहिले काही आफैले पनि झाडु लाउनु परेको छ । 

चुनावको समयमा जनता समक्ष के के कुराको वाचा गर्नु भएको थियो र के के पुरा गर्नु भयो ?
हामीले अपेक्षा गरे अनुरुपको कुराहरु जनतालाई दिन सकेका छैनौँ । त्यतिबेला सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने कुराहरु थियो तर त्यो अहिले सोचेको जस्तो पाएको छैनौँ । त्यसले गर्दा जनतामा जुन आशा र भरोसा थियो त्यो उहाँहरुले पाउन सक्नु भएको छैन । सो कुरामा म आफै पनि दुःखि छु । र आउने दिनहरुमा ति आशा र भरोसाहरु पुरा हुन्छ भन्नेमा म विश्वस्त छु । 

यो वडाका मुख्य समस्याहरु के के छन ?
बाटाघाटा देखिलिएर नदी नियन्त्रण हाम्रो वडाको ठुलो समस्या रहेको छ । त्यस्तै हाम्रो वडामा रहेको सुकुम्बासीवस्ति र निम्न वर्गका मानिसहरुको बसोबास रहेकोे कतिपय ठाउँहरुमा अझैसम्म पनि खाने पानी पुग्न सकेको छैन । त्यस्तै यो वडालाई खुला दिशा मुक्त घोषणा गरेता पनि खुला दिशा पिसाबहरु भइरहेका छन् ।

वडाका समस्या समाधान गर्नको लागि के गर्नु पर्ला ?
यहाँ अहिले बाटोघाटोमा धेरै गाइवस्तु बाँधिदिने, दिशा पिसाब गरिदिने भएकोले त्यसलाई समाधान गर्नको लागि हामीले माइकिङद्वारा जानकारी गराइरहेका छौँ । कालोपत्रे सडकमा पनि गाई वस्तु बाँध्ने र दिशापिसाब गर्ने मानिसहरुलाई कति पटक हामीले चेतावनी पनि दिएका छौँ । त्यस्तै घर निर्माण गर्दा बाटोमा धेरै समयसम्म गिटि बालुवा थुपारेर राख्ने मानिसहरुलाई पनि हामीले यसो नगर्नुहोस् भनेर भनिरहेका छौँ । 

वडाको विकासको लागि तपाईले कोसँग के माग राख्नु भएको छ ?
हामीले माग गर्ने भनेको नगरपालिकालाई नै हो । जन प्रतिनिधि नहुँदा पनि मैले मेरो आफ्नै पहलमा एउटा इस्टिमेट तयार गर्न लगाएर २०७२ सालतिर यहाँबाट दुइचार जना साथीहरुलाई लिएर काठमाडौँको केन्द्रमा गएर ४ करोडको जुन अहिले खेतिखोलामा पुलबनिरहेको अवस्था छ । त्यस्तै यो २०७५÷७६ सालको लागि वडाबाट पहल गरेको थिए तर प्रदेशमा प्रपोजल पेश गरको थिए । हामीले पेश गरेको प्रपोजलमा कुनै पनि योजनाहरु परेनन् । त्यसमा मलाई अलि कति दुःख लागको छ । 

अन्त्यमा के भन्नचाहानु हुन्छ वडावासी नगरवासीहरुमा?
हाम्रो वडाका वडावासीलाई के भन्न चाहन्छु भने जति पनि हाम्रो विकास बजेट वडा स्तरीय होस् या नगरस्तरीय होस् आफ्नो वार्डमा परेका विकास बजेटहरुलाई उपभोक्ता समितिले सदुपयोग गरि काम गर्नु हुनेछ । यो वडाको विकासको लागी आफुहरुले लागत जुटाउन नपरोस नगरले नै काम गरिदियोस भन्ने हाम्रो वडाका बासिन्दाहरुको जुनअपेक्षा छ, त्यसले विकासको गति लिन सक्दैन । त्यसैले तपाईहरुले भएका योजनाहरुलाई लगनशिलता र लागत जुटाएर नै कामगरिदिनु भयो भने विकासले चाँडो गति लिन सक्छ ।